दाऊद

परमेश्वरको मण्डली विश्वकोशबाट
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
दाऊद
David, דָּוִד
चित्र:King David - Sir Peter Paul Rubens.png
राजा दाऊद, पिटर पल रुबेन्स
अवधिई.पू. ११औँ - १०औँ शताब्दी
परिवारबुबा : यिशैका
छोरा (उत्तराधिकारी) : सोलोमन
पेशा(विशेषता)इस्राएलका दोस्रो राजा
कार्य क्षेत्रयरूशलेम
शासनकाल४० वर्ष
मुख्य कार्यसियोन सहर (यरूशलेम) कब्जा ।
भूमि विस्तार ।
विभिन्न प्रणाली स्थापना ।
भजनसंग्रहका

दाऊद (हिब्रू : דָּוִד,[] अरबी: داود[]) ई.पू. ११औँ शताब्दीतिर संयुक्त राज्य इस्राएलका दोस्रो राजा थिए । तिनले ३० वर्षको उमेरमा राजा बनेर ४० वर्ष राज्य गरे । तिनी परमेश्वरको हृदयअनुसारको मानिस भएकाले परमेश्वरले तिनलाई राजाको रूपमा चुन्नुभयो ।[]

तिनीचाहिँ इस्राएलका महान् राजा, जसले परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गर्थे भनेर परिचित छन् । साथै इस्राएलको इतिहासमा एउटा शक्तिशाली वंश स्थापना गरेका अतुलनीय र आदर्श राजा पनि तिनै दाऊद हुन् । यहोवा परमेश्वरप्रतिको विश्वासद्वारा तिनले, आपसमा झगडा गरिरहने इस्राएलका बाह्र कुललाई एउटै जातिको रूपमा एकताबद्ध गराए, र यरूशलेमलाई राजधानी नियुक्त गरे । आफ्नो सैन्य शक्तिलाई विस्तार गर्दै तिनले विदेशी सेनाको कुनै आक्रमणमा नपरी शान्तिसँग राज्य गरे । तिनको शासनकालको इतिहासबारे बाइबलको २ शमूएल१ इतिहास अध्याय ११-२९मा विस्तृत रूपमा वर्णन गरिएको छ । दाऊदका छोरा सोलोमनपछि, इस्राएल उत्तर र दक्षिण गरेर दुई भागमा विभाजित भएकोले लगातार विदेशी मुलुकहरूको आक्रमणमा पऱ्यो, जसका कारण यहूदीहरूको मनमा दाऊदजस्तै, एक शक्तिशाली मसीहको चाह बढ्दैगयो । पछि गएर देखा पर्नुहुने मसीहलाई पुरानो करार बाइबलका धेरै पुस्तकहरूमा राजा दाऊदको रूपमा वर्णन गरिएको पाइन्छ ।

दाऊदको जीवनी

जन्म

गोठालो दाऊद, एलिजाबेथ जेन गार्डनर, सन् १८५९

दाऊदचाहिँ यहूदाको कुलमा मोआबी स्त्री रूथ र बोअजका पनाति, र यिशैका कान्छो छोराको रूपमा जन्मेका थिए ।[] १ शमूएलको पुस्तकमा, दाऊदका ७ जना दाजुहरू थिए भनिएको छ ।[] तर १ इतिहासको पुस्तकमा चाहिँ केवल ६ जनाको नाउँ (एलीआब, अबीनादाब, शिमेअ, नतनेल, राद्दै, ओसेम) मात्र उल्लेख गरिएको छ । इतिहासको पुस्तकबाट दाऊदका एक जना दाजुको नाउँ हटाइनुको कारणचाहिँ सायद सानैमा तिनको मृत्यु भएकोले अथवा तिनी खासै महत्त्वपूर्ण नभएकोले हुन सक्छ भनेर अनुमान गरिएको छ । दाऊदका दुई जना बहिनीहरू थिए– सरूयाह र अबीगेल ।[]

ठिटो दाऊदचाहिँ आफ्ना बुबा यिशैका बगालका गोठाला थिए । सिंह अथवा भालूले आएर बगालबाट भेडा खोसेर लैजाँदा दाऊदले त्यसको पछि-पछि गएर भेडालाई छुटाएर ल्याउँथे ।[]

परमेश्वरद्वारा चुनिएका राजा

चित्र:Biennoury Samuel sacrant David.JPG
शमूएलबाट तेलले अभिषेक गरिएका दाऊद, भिक्टर बिएनौरी, सन् १८४२
दाऊदको सालिक, आन्द्रेआ देल भेरोचियो, सन् १४७६

परमेश्वरले अनाज्ञाकारी शाऊलको सट्टामा राजा हुनलाई दाऊदलाई पहिल्यै चुन्नुभएको थियो । दाऊद जवान ठिटो भए तापनि तिनलाई अभिषेक गर्न परमेश्वरले शमूएल अगमवक्तालाई गुप्त रूपले पठाउनुभयो । किनभने परमेश्वरले मानिसको रूप होइन तर हृदय हेर्नुहुन्छ । पछि, परमेश्वरका आत्मा दाऊदमाथि आउनुभयो र शाऊललाई चाहिँ एउटा हानिकारक आत्माले पक्रियो । तब शाऊलले दाऊदलाई तिनका निम्ति वीणा बजाइदिने व्यक्तिको रूपमा नियुक्त गरे (१ शमूएल अध्याय १६) । इस्राएलीहरू र पलिश्तीहरूबीच युद्ध हुँदा, गोल्यत नाम गरेको एक जना वीर पलिश्तीले चर्को सोरमा इस्राएल र परमेश्वरको अपमान गऱ्यो । इस्राएलीहरू डराएर कोही पनि अगि बढ्न नसकेको त्यो घडीमा, अन्ततः बुबा यिशैको काममा हिँड्दैगर्दा, बाटो परेर युद्ध मैदानतिर आइपुगेका दाऊद, क्रोधले भरिएर गोल्यतको सामना गरे । दाऊदले गोल्यतको निधारमा ढुङ्गाले हानेर त्यसलाई पराजित गरे । परिणामस्वरूप इस्राएली सेना पलिश्ती सेनामाथि विजयी भए । यो विजयसँगै, दाऊदचाहिँ इस्राएललाई बचाउने वीर पुरुष कहलिए (१ शमूएल अध्याय १७) ।

शाऊलबाट भाग्दै

शाऊलले दाऊदलाई आफ्नो सेनाको उच्च पदमा नियुक्त गरे । तब दाऊद शाऊलका छोरा जोनाथनसँग घनिष्ठ मित्र भए, र तिनले शाऊलकी छोरी मीकलसित विवाह गरे । जब दाऊदले हरेक युद्धमा ठूलो विजय हासिल गर्दै सर्वप्रिय बने, तब शाऊलले दाऊदको डाह गर्दै तिनलाई मार्न धेरै पटक षडयन्त्र रचे । अन्ततः दाऊद शाऊलबाट भागे (१ शमूएल अध्याय १८-२०) ।

तिनले पूजाहारीहरूको सहर नोबमा भागेर गए, र त्यहाँ तिनले अहीमेलेक पूजाहारीबाट चढाइएको पवित्र रोटी र गोल्यतको तरवार लिए । नोबका मानिसहरूले दाऊदलाई खानेकुरा र तरवार दिएका कारणले शाऊलले नोबमा भएका पुरुष, स्त्री, गाई-गोरु, गधा र भेडाबाख्रा सबैलाई मारे । यसरी, कसैले पनि दाऊदलाई सहयोग नगरून् अथवा नलुकाऊन् भन्ने आफ्नो दृढ सङ्कल्प शाऊलले व्यक्त गरे ।

जब दाऊद पलिश्तीहरूको देश गातका राजा आकीशकहाँ गए, तब पलिश्तीहरूले तिनलाई चिने । यसकारण दाऊदले पागलपनको अभिनय गरेर जोखिमबाट उम्के । अनि जब तिनी इस्राएलको पूर्वमा स्थित मोआबमा भागेर गए, तब गाद अगमवक्ताले तिनलाई यहूदामा गइहाल्नू भन्ने परमेश्वरको इच्छा सुनाइदिए । त्यो वचनमा आज्ञाकारी भई दाऊद यहूदामा त फर्किए, तर तिनको भागदौडको जीवन भने सकिएन (१ शमूएल २१-२३) ।

दाऊद रामा, नोब, अदुल्लामको ओडार, हारेतको वन, जीपको मरुभूमि र एन-गेदीको मरुभूमि जस्ता ठाउँहरूमा भागेर शरण लिए । त्यहाँ दाऊदजस्ता शरणार्थीहरू धेरै थिए । कष्टमा परेका, ऋणमा परेका र असन्तुष्ट भएका मानिसहरू दाऊदको वरिपरि जम्मा भए, र दाऊद तिनीहरूका अगुवा बने ।[] तिनले जाति-जातिहरूसँग सम्बन्ध गाँसे, स्थानीय बासिन्दाहरूलाई लुटेराहरूबाट बचाए, लुटेराहरूलाई खेदे र लुटिएका माल-सामानहरू बरामद गरे ।[] हुन त शाऊल राजालाई मार्नको लागि दाऊदसित दुई वटा अवसरहरू थिए, तापनि शाऊल ‘परमप्रभुबाट अभिषेक गरिएका’ राजा भएकाले दाऊदले तिनीमाथि हात उठाएनन् ।[१०][११]

शासनकाल

शाऊल र जोनाथन पलिश्तीहरूसँगको युद्धमा मारिए । यो सुनेर दाऊदले छाती पिटी पिटीकन रुँदै उपवास बसे र तिनीहरूप्रति विलाप गरे । अनि यो विलापको गीत यहूदाका मानिसहरूलाई सिकाउनू भनी हुकुम गरे (२ शमूएल अध्याय १) ।

पछि गएर ३० वर्षको उमेरमा दाऊद, हेब्रोनमा यहूदाको कुलका राजा बने । शाऊलका सेनापति रहेका अबनेरले शाऊलका छोरा ईश्बोशेतलाई उत्तरमा राजा नियुक्त गरे र महनोममा ११ वटा कुलसित मिलेर घराना गठन गरे । तर राजा बनेको २ वर्षपछि तिनी केही अधिकारीहरूद्वारा मारिए (२ शमूएल अध्याय २-४) । उत्तरका ११ वटा कुलका प्रतिनिधिहरूले हेब्रोनमा दाऊदलाई भेटे, र तिनलाई अभिषेक गरे । अन्ततः इस्राएलका जम्मै १२ कुलले दाऊदलाई आधिकारिक रूपमै राजा स्वीकार गरे,[१२] र दाऊदले ४० वर्षसम्म राज्य गरे ।[१३]

इस्राएलको राजा बनेपछि तिनले राजधानीलाई यरूशलेममा सार्ने योजना बनाए । तिनले यबूसीहरूको गढी रहेको सियोनलाई कब्जा गरेर त्यसलाई नयाँ राजधानी बनाए,[१४] र इस्राएलको धर्मको सबैभन्दा महान् चिन्ह रहेको करारको सन्दूकलाई त्यहाँ राखे ।[१५]

परिवार

विजय युद्धको समयमा दाऊद, सेनापति उरियाहकी पत्नी बतशेबाप्रति आकर्षित भए, र तिनले बतशेबाका पति उरियाहलाई युद्ध-मैदानमा पठाइयोस् र त्यतै मारियोस् भनी सेनापति योआबलाई हुकुम गरे । त्यसपछि बतशेबाले दाऊदसित विवाह गरेर एक जना छोरो जन्माइन् । तर नातान अगमवक्ताले दाऊदलाई तिनको दुष्कर्मका लागि हप्काए र तिनको छोरा अकालमै मर्ने कुरा बताए । आफूले गरेको पापप्रति दाऊदलाई निकै अफसोस भयो । तिनको छोराको मृत्यु भयो, र बतशेबाले फेरि अर्को छोरा जन्माइन् । त्यो अर्को छोरा सोलोमन हो (२ शमूएल अध्याय ११-१२) । दाऊदले विभिन्न समूहलाई एकीकृत गरेर राज्य गठन गर्नको लागि धेरैलाई आफ्ना पत्नी बनाए र धेरै सन्तानहरू जन्माए । तर तिनका सन्तानहरूबीचको आपसी सम्बन्ध भने राम्रो थिएन । दाऊदका छोरा अमनोनले सौतेनी साहिँला दाजु अब्शालोमको आफ्नै बहिनी तामारलाई बलात्कार गरेकाले अब्शालोमले अमनोनको हत्या गरे । यसले गर्दा निर्वासनमा परेका अब्शालोमले आफ्ना बुबा दाऊदसित क्षमा मागे । तर जब तिनले मानिसहरू र सेवकहरूबाट लोकप्रियता पाउँदैगए तब तिनले दाऊदविरुद्ध विद्रोह गर्न थाले । दाऊद अब्शालोमबाट भागे, तर अन्त्यमा अब्शालोमका सेना पराजित भए र अब्शालोमचाहिँ दाऊदका सेनापति योआबद्वारा मारिए । यो खबर सुनेपछि दाऊदले “मेरो छोरा अब्शालोम” भन्दै धुरुधुरु रोए । (२ शमूएल अध्याय १३-१८) ।

उत्तराधिकारी

चित्र:Cornelis de Vos - King David presenting the sceptre to Solomon.jpg
सोलोमनलाई राजकीय अधिकार दिँदैगरेका दाऊद, कर्नेलिस दे भोस, सन् १६४०

जब दाऊदको उमेर ढल्कियो, तब तिनको उत्तराधिकारी को बन्ने भन्ने कुरामा विवाद उत्पन्न हुन थाल्यो । सोलोमनले दाऊदको सिंहासनको उत्तराधिकार पाई परमेश्वरको मन्दिर निर्माण गर्ने त्यस्तो योजना थियो ।[१६] तर दाऊदका बाँचेका छोराहरूमध्येका जेठो छोरा अदोनियाहले आफूलाई हुनेवाला राजा सोच्दै भोज समेत दिए । जब दाऊदले यो कुरा सुने तब तिनले पूजाहारी सादोकलाई बोलाएर सोलोमनलाई अभिषेक गर्न लगाई तिनलाई राजा बनाए (१ राजा अध्याय १) । मर्नुअघि दाऊदले सोलोमनलाई “परमप्रभु आफ्ना परमेश्वरतिरको आफ्नो कर्तव्य पूरा गर । उहाँका मार्गमा हिँड । मोशाको व्यवस्थामा लेखेका उहाँका विधिहरू र आज्ञाहरू, उहाँका नियमहरू र आदेशहरू पालन गर, ताकि तिमीले जे-जे गर्छौ र तिमी जहाँकहीँ जान्छौ, त्यसमा तिम्रो उन्नति होस्” भन्दै तिनलाई, आशिषित जीवन जिउने तरिका सिकाए ।[१७]

दाऊदका उपलब्धिहरू

सियोन(यरूशलेम)को विजय

प्रस्थानपछि कनानमा बसोबास गरेको करीब २०० वर्षसम्म जातीय गठबन्धनद्वारा जोडिएका इस्राएलका १२ कुलको आपसी सम्बन्ध खुकुलो थियो । राजनीतिक र प्रशासनिक केन्द्र नहुनु पनि ठूलो समस्याको विषय बनेको थियो । इस्राएलका कुलहरूमा भएको एकमात्र समानता भनेको परमेश्वरप्रतिको तिनीहरूको विश्वास थियो । मानिसहरूबीच ऐक्यबद्धता निर्माण गर्न र राष्ट्रिय स्तरमा मानिसहरूलाई एक गराउन एउटा राजधानी सहरको खाँचो थियो, जुनचाहिँ राष्ट्रिय विश्वासको केन्द्र बन्न सक्थ्यो । दाऊदले, इस्राएलीहरूले त्यस बेलासम्म कब्जा गर्न नसकेको यबूसीहरूको केन्द्र रहेको सियोन सहर, यरूशलेमलाई रोजे । पहाडमा अवस्थित यो ठाउँ, दीर्घकालीन युद्ध भइरहँदा समेत कसैले कब्जा गर्न नसकेको त्यस्तो एउटा अजेय गढी थियो ।[१८] तर दाऊद राजा हुनेबित्तिकै तिनी सियोनको गढीतर्फ अगि बढे । तिनले कुन बाटो प्रयोग गरे भन्ने कुरा प्रष्ट त छैन, तर तिनले पानी तान्न प्रयोग गरिने चट्टानको पर्खाल चढेर सियोनलाई सजिलैसित कब्जा गरे । सियोन सहरलाई ‘दाऊदको सहर’ पनि भनिन्थ्यो ।[१४] यरूशलेम, जहाँ सियोन सहर अवस्थित थियो, त्यो नै एकीकृत इस्राएलको राजधानी बन्यो, र दाऊदले करारको सन्दूकलाई ओबेद-एदोमको घरबाट नयाँ राजधानीमा सारे ।[१५]

क्षेत्र विस्तार

चित्र:Davids-kingdom.jpg
दाऊदले कब्जा गरेको क्षेत्र

दाऊद राजा बनेको खबर सुनेपछि पलिश्तीहरूले इस्राएलमाथि दुई चोटिसम्म लगातार आक्रमण गरे । त्यस बेला दाऊदका सेनाले पलिश्तीहरूलाई पराजित गरेर तिनीहरूलाई किनारसम्मै लखेटे ।[१९] दाऊदले पलिश्तीहरूलाई पराजित गर्न युद्ध सुरु गरे, र विजय हासिल गरी तिनीहरूका क्षेत्रलाई इस्राएलसँग गाँभे । तिनले, भविष्यमा इस्राएलको सुरक्षामा खतरा हुन सक्ने छिमेकी राज्यहरू– उत्तरमा अरामको दमस्कस(वर्तमान सिरिया), पूर्वमा अम्मोन र मोआब(वर्तमान जोर्डन), दक्षिणमा एदोम(वर्तमान नेगेव)लाई पराजित गरेर राज्य स्थापना गरे (१ इतिहास अध्याय १८-२०) । बाइबलमा “दाऊद जहाँ-जहाँ गए, त्यहाँ-त्यहाँ परमेश्वरले तिनलाई विजय दिनुभयो” भनेर लेखिएको छ ।[२०]

मन्दिर निर्माणको तयारी

चित्र:Hole King David Threshing.jpg
यबूसी अरौनाको खला किन्दैगरेका दाऊद, विलियम होल

दाऊदले आफूचाहिँ देवदारुले बनेको महलमा बसेको, तर परमेश्वरको करारको सन्दूक भने पालमा रहेको कुराप्रति चिन्ता व्यक्त गरे, र परमेश्वरको मन्दिर निर्माण गर्ने गहिरो इच्छा गरे । दाऊदको यस्तो हृदय देख्नुभएर परमेश्वर प्रसन्न हुनुभयो र तिनका छोरा सोलोमनद्वारा त्यो मन्दिर निर्माण गर्न लगाउनुभयो ।[२१]

आफ्नो शासनकालको अन्त्यमा दाऊदले यबूसी(अथवा अरौना) ओर्नानको खला किने (२ शमूएल अध्याय २४) । त्यो ठाउँचाहिँ, परमेश्वरको वचनमा आज्ञाकारी भएका अब्राहामले इसहाकलाई होमबलिको रूपमा अर्पण गर्न खोजेको मोरीयाह डाँडा थियो । त्यहाँ परमेश्वरको अनुग्रहद्वारा अब्राहामले, इसहाकको सट्टामा भेडालाई बलि चढाए ।[२२] दाऊदले ओर्नानको खलालाई मन्दिरको जग बनाए, र आफ्नो छोरा सोलोमनलाई आफ्ना योजनाहरू, कोषहरू र निर्माण सामग्रीहरू हस्तान्तरण गरे (१ इतिहास अध्याय २२; २८-२९) । पछि सोलोमनले मन्दिर निर्माण गरे, र करारको सन्दूकलाई दाऊदको सहर अर्थात् सियोन सहरबाट मन्दिरमा सारे ।[२३]

मन्दिरमा सेवा-कार्यको व्यवस्थापन

मन्दिरको सेवा-कार्यचाहिँ लेवी कुललाई सुम्पिइयो । मन्दिरको सेवा-कार्य व्यवस्थित रूपमा गर्नको निम्ति दाऊदले पूजाहारीहरू, गायन टोली(२८८ जना पेशेवर अगुवासहित ४,००० जनाको गायन टोली), मन्दिरका द्वारपाल, पवित्र भेटी व्यवस्थापकहरू साथै परीक्षण र प्रशासन जस्ता मन्दिरका आवश्यक कार्यको निम्ति लेवीहरूलाई कार्य विभाजन गरे । (१ इतिहास अध्याय २३-२७)

भजनसंग्रहको अधिकांश पुस्तक लेखे

चित्र:Codex binding Louvre MR373.jpg
दाऊदका कविताहरू सुनेर लेख्ने शास्त्रीहरू (११औँ शताब्दीतिरको आइभोरि मूर्तिकला)

सङ्गीत र कविताप्रति दाऊदमा उत्कृष्ट प्रतिभा थियो । तिनी आफैले थुप्रै गीत र कविताहरू लेखे र रचना गरे । तिनका केही गीतहरू र कविताहरू पुरानो करार बाइबलको भजनसंग्रहको पुस्तकमा लेखिएको पाइन्छ । भजनसंग्रहको पुस्तकमा भएका १५० वटा भजनहरूमध्ये ७३ वटाचाहिँ दाऊदसँग सम्बन्धित छन् (भज ३-९, ११-३२, ३४-४१, ५१-६५, ६८-७०, ८६, १०१, १०३, १०८-११०, १२२, १२४, १३१, १३३, १३८-१४५) ।

शिक्षा

परमेश्वरमा भरोसा गर्ने विश्वास

चित्र:Domenico Fetti - David with the Head of Goliath - WGA07844.jpg
गोल्यतलाई परास्त गरेका दाऊद, डोमेनिको फेटी, सन् १६२०

सानैदेखि दाऊद परमेश्वरमा पूर्ण भरोसा गर्थे । ठिटो भए पनि दाऊद, पलिश्ती सेनापति गोल्यतसँग लड्न जाँदा तिनले तरवार, भाला, ढाल वा हतियारमा होइन तर परमेश्वरमा भरोसा गरी साहसका साथ अगि बढेर त्यस गोल्यतलाई परास्त गरे ।[२४] दाऊदमा अपरिवर्तनीय विश्वास भएकोले परमेश्वर सधैँ तिनको साथमा रहनुभएर तिनलाई सहयोग गर्नुभयो ।[२५]


अब मलाई थाहा भयो, कि परमप्रभुले आफ्ना अभिषिक्तलाई सहायता गर्नुहुन्छ । उहाँले आफ्नो दाहिने बाहुलीको उद्धार गर्ने शक्तिद्वारा आफ्नो पवित्र स्वर्गबाट उनलाई उत्तर दिनुहुनेछ । कोही रथहरूमा र कोही घोडाहरूमाथि भरोसा गर्छन्, तर हामी त परमप्रभु, हाम्रा परमेश्वरकै नाउँमा भरोसा गर्छौं ।

भजनसंग्रह २०:६-७


सबै परिस्थितिमा धन्यवाद चढाउने

राजा शाऊलको निम्ति वीणा बजाउँदैगरेका दाऊद, जान भान डेन होके

महान् राजा दाऊदको जीवनमा थुप्रै परीक्षाहरू आए । तर जस्तोसुकै परिस्थितिमा पनि तिनले परमेश्वरविरुद्ध गनगन नगरी उल्टै परमेश्वरलाई धन्यवाद र प्रशंसा चढाए । किनभने वर्तमानमा कठिनाइ भए तापनि अन्तिममा परमेश्वरले आशिष् दिनुहुन्छ भन्ने कुरा तिनले विश्वास गर्दथे ।


[अबीमेलेकको सामु पागलको अभिनय गरेर त्यहाँबाट उम्केपछि दाऊदको भजन] हरसमय म परमप्रभुको प्रशंसा गर्नेछु, उहाँको प्रशंसा निरन्तर मेरो मुखमा हुनेछ । मेरो प्राणले परमप्रभुमा गर्व गर्नेछ । कष्टमा परेकाहरू यो सुनेर खुशी होऊन् । मसँगसँगै परमप्रभुको महिमा गर, र हामी एकसाथ उहाँको नाउँ उच्च पारौं ! मैले परमप्रभुलाई खोजें, र उहाँले मलाई जवाफ दिनुभयो, मलाई मेरा सबै डरहरूबाट छुटकारा दिनुभयो । . . . जवान सिंहहरू कमजोर होलान्, र तिनीहरू भोकाउँछन्, तर परमप्रभुको खोजी गर्नेहरूलाई कुनै उत्तम कुराको अभाव हुँदैन ।

भजनसंग्रह ३४:१-१०


परमेश्वरप्रतिको हृदय

चित्र:Überführung der Bundeslade durch den singenden und tanzenden König David.jpg
करारको सन्दूक सामु नाचेका राजा दाऊद, पिटर भान लिन्ट, सन् १६५०

परमेश्वरलाई सबैभन्दा बढी प्रेम गरेका व्यक्ति दाऊद हुन् भनेर बाइबलमा लेखिएको छ । जब करारको सन्दूकलाई सियोन सहरमा ल्याइयो, तब परमेश्वरको सेवा गर्न पाइने त्यो खुशीमा दाऊद परमेश्वरको सामु नाँचे । मानिसहरूले के सोच्लान् भन्ने कुराको तिनले वास्ता गरेनन् ।[२६] आफूचाहिँ देवदारुले बनेको महलमा बसिरहेको, तर परमेश्वरको करारको सन्दूक भने पालमा राखिएको कुरामा चिन्तित हुँदै तिनले परमेश्वरको मन्दिर निर्माण गर्ने योजना बनाए । परमेश्वरप्रतिको त्यो आदर देख्नुभएर परमेश्वरले पनि तिनलाई प्रेम र आदर गर्नुभयो ।


दाऊदले आफैलाई आफ्नो महलमा सुरक्षित पारेपछि, र तिनका चारैतिरका शत्रुहरूबाट परमप्रभुले तिनलाई विश्राम दिनुभएपछि, तिनले नातान अगमवक्तालाई भने, “म त देवदारुले बनाएको महलमा बस्दैछु, तर परमप्रभुको सन्दूक भने पालमा राखिएको छ ।” . . . “ ‘सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ: मैले तँलाई मेरो प्रजा इस्राएलको गोठालो हुनलाई खर्कबाट र भेडाहरूका पछिपछि लाग्नबाट बोलाएँ । जहाँ-जहाँ तँ गइस् म तँसँग रहें, र तेरा सबै शत्रुलाई तेरो बाटोदेखि नाश गरिदिएँ । अब पृथ्वीका प्रतिष्ठित व्यक्तिहरूका बीचमा म तेरो नाउँ महान् बनाउनेछु’ ।”

२ शमूएल ७:१-९


परमेश्वरको आज्ञालाई शुद्ध सुनभन्दा बढी प्रेम गरेका

दाऊदको जीवनमा खुशी र आनन्द भनेकै परमेश्वरको आज्ञा, नियम र व्यवस्था थियो । दाऊदले परमेश्वरको आज्ञालाई शुद्ध सुनभन्दा अझ बहुमूल्य ठानेर पालन गरे ।


परमप्रभुको व्यवस्था सिद्ध छ, प्राणलाई पुनर्जीवित गराउने । परमप्रभुका कानूनहरू विश्वसनीय छन्, निर्बोधलाई बुद्धिमान् तुल्याउने । परमप्रभुका नियमहरू ठीक छन्, हृदयलाई आनन्द गराउने । परमप्रभुका आज्ञाहरू उज्ज्वल छन्, आँखालाई प्रकाश दिने । परमप्रभुको भय स्वच्छ छ, अनन्तकालसम्मै स्थिर रहने । परमप्रभुका विधिहरू सच्चा छन्, ती सर्वथा धर्ममय छन् । सुनभन्दा पनि ती बढी चाहना गर्ने योग्य छन्, निखुर सुनभन्दा पनि ज्यादै बढी, चाकाबाट टप्कने महभन्दा बढी गुलिया । तीबाटै तपाईंको दासले चेताउनी पाउँदछ, ती पालन गर्दा ठूलो इनाम मिल्नेछ ।

भजनसंग्रह १९:७-११


आफूलाई पक्रेर मार्न खोजेका शाऊललाई, दाऊदले उल्टै मार्न सक्ने अवसर थियो । तापनि दाऊद तिनीबाट भाग्नुको कारणचाहिँ तिनले शाऊललाई ‘परमप्रभुका अभिषिक्त जन’ ठानेकाले गर्दा हो । दाऊदले आफ्नो सुरक्षा र पदलाई भन्दा पनि परमेश्वरको इच्छालाई अझ बढी मान्यता दिए ।[११]

दाऊद र ख्रीष्ट

दाऊदको सालिक, माइकलेन्जेलो, सन् १५०१-१५०४

पुरानो करारका अगमवक्ताहरूले मसीहलाई दाऊदको वंशमा आउने मानिसको रूपमा वर्णन गरे, र यो संसारमा मसीहको रूपमा आउनुहुने परमेश्वरलाई राजा दाऊदसँग तुलना गर्दै अगमवाणी गरे । यो अगमवाणी येशूज्यूद्वारा पूरा भयो ।[२७]

यशैयाको अगमवाणी

  • किनभने हाम्रा निम्ति एक जना बालकको जन्म भएको छ । हाम्रा निम्ति एक जना छोरो दिइएको छ । शासन उहाँको काँधमा हुनेछ । उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ । उहाँको शासन र शान्तिका वृद्धिको अन्त कहिल्यै हुनेछैन । दाऊदको सिंहासन र तिनको राज्यमाथि त्यसलाई न्याय र धार्मिकताको साथ स्थापित गरी स्थिर गराउन, त्यस बेलादेखि सदाको निम्ति उहाँले राज्य गर्नुहुनेछ । सर्वशक्तिमान् परमप्रभुको जोशले यो पूरा गर्नेछ । (यशैया ९:६-७)
  • यिशैको ठुटाबाट एउटा टुसा निस्कनेछ, त्यसका जराहरूबाट निस्केको हाँगाले फल फलाउनेछ । परमप्रभुका आत्मा उहाँमा रहनुहुनेछ– बुद्धि र समझका आत्मा, सल्लाह र शक्तिका आत्मा, ज्ञान र परमप्रभुको भयको आत्मा . . . त्यस दिन मानिसहरूका निम्ति यिशैको वंशबाट एउटा झन्डाजस्तै खडा हुनेछ । जाति-जातिहरू उहाँकहाँ भेला हुनेछन्, र उहाँको विश्रामको स्थान महिमामय हुनेछ । (यशैया ११:१-१०)
  • प्रेममा एउटा सिंहासन स्थापित गरिनेछ, त्यसमा दाऊदको घरानाबाट विश्वासयोग्यसाथ एक मानिस विराजमान हुनुहुनेछ, र उहाँले इन्साफ गर्दा न्यायको खोजी गर्नुहुनेछ, र धार्मिकताका पक्षको गति तीव्र पार्नुहुनेछ । (यशैया १६:५)
  • कान थाप, र मकहाँ आओ । सुन, ताकि तिमीहरूको प्राण जिओस् । म तिमीहरूसित अनन्त करार बाँध्नेछु, दाऊदलाई प्रतिज्ञा गरेको मेरो विश्वासको प्रेम । (यशैया ५५:३)

यर्मियाको अगमवाणी

  • “जब म दाऊदको वंशबाट एउटा धार्मिक हाँगा खडा गर्नेछु, एक जना राजा जसले बुद्धिसित राज गर्नेछन्, र जे उचित र ठीक छ त्यही तिनले देशमा गर्नेछन् । तिनको समयमा यहूदा बचाइनेछ र इस्राएल सुरक्षितसाथ रहनेछ । जुन नाउँले तिनी कहलाइनेछन् त्यो यही हो, ‘परमप्रभु हाम्रा धार्मिकता’ ।” (यर्मिया २३:५-६)
  • “त्यसको सट्टामा तिनीहरूले परमप्रभु आफ्ना परमेश्वर र मैले तिनीहरूका निम्ति खडा गरेका तिनीहरूका राजा दाऊदकै सेवा गर्नेछन् ।” (यर्मिया ३०:९)
  • “ती दिन र त्यस समयमा म दाऊदको वंशबाट एउटा धार्मिक हाँगा उत्पन्न गराउनेछु, र तिनले देशमा न्याय र उचित काम गर्नेछन् । ती दिनमा यहूदा बचाइनेछ, र यरूशलेम सुरक्षितसाथ रहनेछ । तिनी यही नाउँले कहलाइनेछन्, ‘परमप्रभु हाम्रा धार्मिकता’ ।” (यर्मिया ३३:१५-१७)

इजकिएलको अगमवाणी

  • “म तिनीहरूको एउटै गोठालो हुनलाई मेरो दास दाऊदलाई नियुक्त गर्नेछु । त्यसले तिनीहरूको हेरचाह गर्नेछ, त्यो तिनीहरूको गोठालो हुनेछ । म परमप्रभु, तिमीहरूका परमेश्वर हुनेछु, र मेरो दास दाऊदचाहिँ तिनीहरूका माझमा राजकुमार हुनेछ । म परमप्रभुले यो भनेको हुँ ।” (इजकिएल ३४:२३-२४)
  • “ ‘मेरो दास दाऊद तिनीहरूमाथि राजा हुनेछ, र तिनीहरूको एउटै गोठालो हुनेछ । तिनीहरूले मेरा नियमहरू पालन गर्नेछन्, र तिनीहरूले मेरा विधिहरू पालन गर्नलाई वास्ता गर्नेछन् । मैले मेरो दास याकूबलाई दिएको देशमा तिनीहरू बस्नेछन्, र जहाँ तिनीहरूका पिता-पुर्खाहरू बसेका थिए । तिनीहरू र तिनीहरूका सन्तान-दरसन्तानहरू सदासर्वदा त्यहाँ बस्नेछन्, र मेरो दास दाऊद सदासर्वदाको निम्ति तिनीहरूको राजकुमार हुनेछ’ ।” (इजकिएल ३७:२४-२५)

होशेको अगमवाणी

  • त्यसपछि इस्राएलीहरू फर्कनेछन्, परमप्रभु आफ्ना परमेश्वरलाई र आफ्ना राजा दाऊदलाई खोज्नेछन् । पछिल्ला दिनहरूमा तिनीहरू भयसित परमप्रभु र उहाँका आशिष्‌तिर आउनेछन् । (होशे ३:५)

यो पनि हेर्नुहोस्

बाह्य कडीहरू

सन्दर्भ सामग्री