आराधना

परमेश्वरको मण्डली विश्वकोशबाट
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

शाब्दिक रूपमा आराधना भनेको ‘ईश्वरप्रतिको आदर, श्रद्धा’ हो । विस्तृत रूपमा भन्नुपर्दा, पुरानो करारको समयमा बलिदान चढाइएजस्तै, आफू होचिएर परमेश्वरलाई श्रद्धा गर्नको लागि गरिने कार्यलाई नै आराधना भन्न सकिन्छ । तर सामान्यतया यसलाई, प्रार्थना अथवा स्तुतिद्वारा परमेश्वरलाई गरिने उपासनाको रूपमा प्रयोग गर्ने गरिएको पाइन्छ ।

आराधना गरिरहेको स्वरूप, परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिर
आराधना गरिरहेको स्वरूप, परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिर

पुरानो करारको बलिदान

चित्र:High Priest Offering Sacrifice of a Goat.jpg
प्रधान पूजाहारीले पशु बलिद्वारा चढाएको बलिदान

पुरानो करारको समयमा, बलि चढाएर परमेश्वरलाई आराधना गर्ने गरिन्थ्यो । बलिदानको सुरुवातचाहिँ मानव-जातिका पुर्खा आदमको समयदेखि भएको थियो । आदमका दुई छोराहरू कयिन र हाबिलले आ-आफ्नै तरिकाले परमेश्वरलाई भेटी चढाए । थुमा बलिद्वारा चढाइएको हाबिलको बलिदानलाई परमेश्वरले ग्रहण गर्नुभयो, तर भूमिको उब्जनीबाट चढाइएको कयिनको बलिदानलाई चाहिँ उहाँले ग्रहण गर्नुभएन । परमेश्वरले चाहनुहुने बलिदानचाहिँ पशुबलि हो भन्ने कुरा यसबाट बुझ्न सकिन्छ ।[] त्यस बेलादेखि, धेरै विश्वासका पुर्खाहरूले हाबिलको उदाहरणलाई पछ्याउँदै पशुबलि चढाए ।[][][] पशुको रगत बगाएर चढाइने यो बलिदान, मोशाको पालामा आएर संहिताबद्ध गरियो । पुरानो करारको समयमा, इस्राएलीहरूले व्यवस्थाअनुसार हरेक शबाथमा र ७ वटा वार्षिक चाडहरूमा बिहान र दिउँसो नित्य होमबलि चढाएर परमेश्वरसित बातचीत गर्थे । यसबाहेक पनि तिनीहरूले निरन्तर उद्देश्य र आवश्यकता अनुसारका थोक ल्याएर व्यक्तिगत रूपमा पनि बलिदान चढाउँथे ।

पुरानो करारमा बलिदानको प्रकार

पुरानो करारको समयमा पवित्रस्थानमा चढाइने बलिदानको प्रकार, विधि र नाम मिल्दोजुल्दो हुने र दोहोरिने भएकोले ती बलिदानहरूलाई ठीकसँग छुट्‌ट्याउन सजिलो थिएन । यद्यपि बलिदानको उद्देश्य, बलिको वस्तु र विधिअनुसार यसलाई निम्नानुसार वर्गीकरण गर्न सकिन्छ ।

  • उद्देश्यअनुसार वर्गीकरण
यो मुख्य गरी पापबलि, दोषबलि र मेलबलिमा वर्गीकृत छ । पापबलि र दोषबलि दुवैमा, पापबाट छुटकारा भन्ने अर्थ समावेश छ । परमेश्वरको विरुद्धमा पाप गर्दा मानिसहरूले प्रायः पापबलि चढाउँथे, अनि मानिस-मानिसबीचको सामाजिक नियम तोड्दा तिनीहरूले दोषबलि चढाउँथे । मेलबलिचाहिँ पाप-क्षमा दिनुभएका परमेश्वरको अनुग्रहप्रति धन्यवाद दिँदा अथवा परमेश्वरलाई कुनै कुराको बिन्ती गर्दा चढाइने बलि थियो । यसमा चाहिँ, बलिदान चढाउने व्यक्तिले पनि पूजाहारीसँगै उक्त बलिदानबाट खान सक्थ्यो ।
  • बलिको वस्तुअनुसार वर्गीकरण
यसलाई होमबलि, अन्नबलि र अर्घबलिको रूपमा वर्गीकरण गर्न सकिन्छ । होमबलिचाहिँ सबैभन्दा आधारभूत र साधारण बलिदान थियो, र यसमा पशुलाई आगोमा जलाएर बलिदान गरिन्थ्यो । शाब्दिक रूपमा अन्नबलि भनेको अन्न चढाइने बलि हो, र यसमा पीठो, तेल र धूप बालेर अनि रोटी पोलेर चढाइन्थ्यो । त्यसै गरी अर्घबलि गर्दा दाखमद्य खन्याएर बलिदान चढाइन्थ्यो । होमबलिचाहिँ अन्नबलि वा अर्घबलि सँगसँगै चढाइन्थ्यो ।[][]
  • विधिअनुसार वर्गीकरण
आगोद्वारा चढाइने बलि, माथि उठाइने बलि र डोलाइने बलि गरेर यसमा ३ वटा विधि पर्दछ । होमबलि र केही अन्नबलिचाहिँ आगोद्वारा चढाइन्थ्यो । माथि उठाइने बलिलाई, परमेश्वर सामु माथि उठाएर चढाइन्थ्यो र डोलाइने बलिलाई चाहिँ डोलाएर चढाइन्थ्यो । अगौटे फलको चाडमा, परमेश्वरलाई बालीको पहिलो उब्जनीको एक बिटा डोलाएर चढाइन्थ्यो ।

नयाँ करारमा आराधना

बलिदानदेखि आराधनासम्म

पुरानो करारको व्यवस्थाचाहिँ नयाँ करारमा हुन आउने उत्तम कुराहरूको छाया हो ।[] मोशाको व्यवस्थाअनुसार पूजाहारीहरूले पशुबलि गरेर रगतको बलिदान चढाउँथे । पशुलाई बलि गरेर पाप-क्षमा पाइने पुरानो करारको बलिदानचाहिँ, भविष्यमा मानव-जातिको पापको सट्टामा ख्रीष्ट बलिदान हुनुहुने कुरालाई दर्शाउने अगमवाणी हो । पुरानो करारको बलिदानको रगतले, येशूज्यूले क्रूसमा बगाउनुभएको अनमोल रगतलाई सङ्केत गर्दछ ।[] अनि येशूज्यू स्वयम्‌ अनन्त पापबलिको रूपमा बलिदान हुनुभएकोले त्यस उप्रान्त पुरानो करारको बलिदान आवश्यक परेन ।[][१०] साथै नयाँ करारको समयमा, हामीले आत्मा र सत्यतामा आराधना गऱ्यौं भने येशूज्यूको बलिदानद्वारा हामीले पाप-क्षमा र सम्पूर्ण आशिष् प्राप्त गर्छौं ।

चित्र:Flemish School - Landscape with Christ and the Woman of Samaria - 872126 - National Trust.jpg
सामरी स्त्रीलाई आत्मा र सत्यतामा आराधना गर्न सिकाउनुहुने येशूज्यू

येशूज्यूको शिक्षा

येशूले तिनलाई भन्नुभयो, “ए नारी, मलाई विश्वास गर, त्यो बेला आउँदैछ, जब तिमीहरू न त यस डाँडामा, न यरूशलेममा पिताको आराधना गर्नेछौ । . . . तर बेला आइरहेछ, र त्यो बेला अहिल्यै हो, जब सच्चा आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन् । किनकि आराधना गर्ने यस्तै आराधकहरूलाई नै पिताले खोज्नुहुन्छ ।”

यूहन्ना ४:२१-२३


येशूज्यूको समयमा, यरूशलेममा पुरानो करारको व्यवस्थाअनुसार हरेक दिन पशुहरू बलि गरिन्थ्यो । तर येशूज्यूले अब उप्रान्त पुरानो करारको विधिअनुसार पशुबलि गर्न जरुरी छैन भन्ने अर्थमा ‘न यरूशलेममा’ भन्नुभयो । नयाँ करारको समयमा, येशूज्यूले देखाउनुभएको उदाहरणलाई पछ्याउँदै प्रेरितहरूले आत्मा र सत्यतामा आराधना गरे ।

आराधनाको उद्देश्य

पाप-क्षमा पाएर परमेश्वरसँग मेलमिलाप गर्नको निम्ति

आराधना गर्नुको सबैभन्दा ठूलो उद्देश्यमध्येको एक नै पाप-क्षमा पाउनु हो । पापले गर्दा परमेश्वरबाट टाढिएका मानव-जातिले पाप-क्षमा पाएर परमेश्वरको समीप जाने एकमात्र धर्मविधि भनेकै आराधना हो ।[११][१२][१३] पुरानो करारको समयमा इस्राएलीहरूले, आफ्नो पाप क्षमा पाउनको निम्ति पशुबलि गर्थे, र त्यो बलिको रगतद्वारा आराधना गर्थे । तर नयाँ करारको समयमा, थुमाको रूपमा सङ्केत गरिनुभएका ख्रीष्ट स्वयम्‌ मानव-जातिको पाप-क्षमाको निम्ति बलिदान हुनुभयो ।[१४] योद्वारा धेरै मानिसहरू पापको साङ्लोबाट मुक्त भए, र पापले गर्दा टाढिनुभएका परमेश्वरसँग मेलमिलाप गर्न सक्ने बाटो खुल्यो ।[१५] त्यसैले पापी मानव-जातिका निम्ति बलिदान हुनुभएका ख्रीष्टको प्रेमलाई सम्झना गर्नको निम्ति मानव-जातिले परमेश्वरलाई आराधना गर्न आवश्यक छ ।

परमेश्वरसँगको हाम्रो सम्बन्ध निश्चित गर्नको निम्ति

परमेश्वर र उहाँका प्रजाले आराधनाद्वारा आत्मिक रूपमा भेटघाट र बातचीत गर्न सक्छन् । परमेश्वरले बलिदान अर्थात् आराधनाद्वारा आफ्ना प्रजासँग करार बाँध्नेछु भन्नुभएको छ ।[१६] आराधनाचाहिँ मानिसहरूले सृष्टिकर्ता परमेश्वरसँग बाँधेका करारलाई दह्रिलो पार्न र दृढताका साथ परमेश्वरको सेवा गर्न सकून् भनेर बनाइएको हो । आराधनाद्वारा सन्तहरूले परमेश्वर र आफूबीच बुबा-आमा र सन्तान, राजा र प्रजा, सृष्टिकर्ता र सृष्टिका थोकको सम्बन्ध गाँसिन्छ भनी सोच्दछन् । संसारमा धेरै देवताहरू र प्रभुहरू छन् ।[१७] तर यदि मानिसहरूले परमेश्वरलाई पूर्ण रूपमा सेवा गरेनन् भने तिनीहरू विनाशमा पर्नेछन् ।[१८] सन्तहरूले आराधनाद्वारा साँचो परमेश्वरको सेवा गर्न सक्ने भएकाले तिनीहरू परमेश्वरसित अविभाज्य प्रेमको सम्बन्धमा बाँधिन्छन् ।[१९][२०]

परमेश्वरलाई धन्यवाद र महिमा दिनको निम्ति

परमेश्वर यावत् थोक सृजनुहुने सृष्टिकर्ता हुनुहुन्छ । उहाँले नै मानव-जातिलाई जीवनको सास दिनुभयो, पापी मानव-जातिलाई बचाउनुभयो, र सत्यताको वचनद्वारा स्वर्गको प्रतिज्ञा गर्नुभयो । परमेश्वरले मुक्तिको प्रबन्ध खडा गर्नुभयो र त्यसैअनुसार पूरा गर्नुभयो, जुन कुरा मानिसहरूले बुझेका छैनन् ।


“हे हाम्रा प्रभु र परमेश्वर, तपाईं महिमा, आदर, र शक्ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने सबै कुरा तपाईंले नै सृष्टि गर्नुभएको हो, र तपाईंकै इच्छाबमोजिम ती अस्तित्वमा आए, र तिनको सृष्टि भयो ।”

प्रकाश ४:११


सन्तहरू हरेक दिन परमेश्वरको प्रेम र हेरचाह प्राप्त गर्दै उहाँको अनुग्रहभित्र जिउँछन् । महिमा, आदर र धन्यवाद ग्रहण गर्न योग्यका परमेश्वरलाई आराधना गर्नुचाहिँ मुक्ति पाउने सन्तहरूले गर्नैपर्ने कार्य हो ।

आराधनाको आशिष्‌

परमेश्वरको सेवा गर्नेहरूलाई स्वर्गीय प्रजाको योग्यता र परमेश्वरका सन्तानको अधिकार, अनि अन्त्यमा आशिष् दिन चाहनुहुने परमेश्वरको इच्छा आराधनामा समावेश छ । सन्तहरूले परमेश्वरलाई आत्मा र सत्यतामा धन्यवाद र महिमा दिँदा परमेश्वरले तिनीहरूलाई प्रशस्त आशिष्‌ दिनुहुनेछ । पुरानो करारको बलिदानमा समाविष्ट परमेश्वरका प्रतिज्ञाहरूद्वारा

आराधनाको आशिष्‌बारे जान्न सकिन्छ ।

  • पुरानो करारको बलिदानचाहिँ, पापले गर्दा परमेश्वरबाट टाढिएका पापीहरूले[२१] पाप-क्षमा पाएर परमेश्वरकहाँ जान सक्ने एकमात्र तरिका थियो ।[२२][२३] हुन त मुक्तिको चाह गर्ने सन्तहरूले आराधना गर्नुको उद्देश्य पाप-क्षमा पाउनु हो, तर यसमा परमेश्वरको ठूलो आशिष् पनि छ ।
  • यदि कसैले बलिदान(आराधना) चढायो भने ऊ शारीरिक र आत्मिक दुवै रूपमा समृद्ध हुन सक्छ । सोलोमनले एक हजार होमबलि चढाएर परमेश्वरबाट बुद्धि प्राप्त गरे, र त्यो समयको सबैभन्दा बुद्धिमान् राजा बने ।[२४] परमेश्वरको आशिष्‌मुनि तिनको राज्य निकै समृद्ध भएको थियो । ओबेद-एदोमको घरमा करारको सन्दूक राखिँदा परमेश्वरले त्यो घरानालाई ठूलो आशिष् दिनुभयो । यो कुराले, मन्दिरमा परमेश्वरको आराधना गर्नेहरूले आशिष् पाउनेछन् भन्ने कुरा देखाउँछ ।[२५]
  • जब हामीले परमेश्वरको आज्ञाअनुसार आराधना गर्छौं, तब हामीले आत्मिक बुद्धि र समझको आशिष् पाउनेछौं । तर मानिसको नियम पालन गर्नेहरूको चाहिँ बुद्धि र समझ लोप हुनेछ भनेर यशैया अगमवक्ताले अगमवाणी गरे ।[२६] मानिसको नियम भन्नाले बाइबलमा नभएको आइतबारको सेवाक्रिसमसजस्ता झूटा आराधनाहरू हुन् । बाइबलमा नभएको मानिसको नियम अर्थात् झूटो आराधना गर्नेहरू कदापि स्वर्गको राज्यमा प्रवेश गर्न सक्नेछैनन् । परमेश्वरले आज्ञा गर्नुभएको आराधना र चाडहरू मानेमा मात्र ख्रीष्टको रगतद्वारा बुद्धि र समझ प्राप्त गरी परमेश्वरको रहस्य र मुक्तिको प्रबन्धलाई पूर्ण रूपमा बुझ्न सकिन्छ ।[२७]
  • चाडको आराधनामा समाविष्ट अर्थ र आशिष् अझ विशेष छ । परमेश्वरका ३ चरणका ७ वटा चाडहरू प्रत्येकमा फरक-फरक आशिष्‌को प्रतिज्ञा गरिएकोले ती चाडको आराधना गरेमा परमेश्वरबाट आशिष् प्राप्त गर्न सकिन्छ । चाडको आराधना भनेको एउटा यस्तो बाटो हो, जसबाट भएर गएमा पाप-क्षमा, अनन्त जीवन, विपत्तिबाट सुरक्षा, पुनरुत्थानको जीवित आशा, स्वर्ग उचालिने प्रतिज्ञा र पवित्र आत्माका वरदान जस्ता थुप्रै आशिष्‌हरू पाउन सकिन्छ । साप्ताहिक चाड रहेको शबाथको आराधना गरेमा, परमेश्वरको प्रजाको रूपमा स्वीकार पाई अनन्त विश्राममा प्रवेश गर्ने आशिष्‌को प्रतिज्ञा पाउन सकिन्छ ।

आराधनाको दिन

परमेश्वरका प्रजाले चाडको विधिअनुसार साप्ताहिक र वार्षिक चाडहरू मान्दछन् ।[२८]

साप्ताहिक चाड

  • शबाथ-दिन: शबाथ-दिनचाहिँ सृष्टिकर्ताको शक्तिलाई सम्झना गर्ने साप्ताहिक चाड हो । बाइबलमा शबाथ-दिनचाहिँ सातौँ दिन, शनिबार हो ।
  • तेस्रो दिनको आराधना : शुद्धीकरणको आशिष् दिलाउने तेस्रो दिनको आराधनाचाहिँ मंगलबार साँझमा गरिन्छ ।[२९]

वार्षिक चाड

वार्षिक चाडहरूमा निस्तार-चाड, अखमिरी रोटीको चाड, पुनरुत्थानको दिन (अगौटे फलको चाड), पेन्तिकोसको दिन (साताहरूको चाड), तुरहीको चाड, प्रायश्चितको दिन, र छाप्रो-वासको चाड पर्दछ । ३ चरणका ७ वटा चाडहरू प्रत्येकको आ-आफ्नै अगमवाणीगत अर्थ र आशिष् छ ।

विशेष आराधना

विशेष उद्देश्य हुँदा गरिने विशेष आराधना हुन्छ । साथै मण्डलीमा सम्झनात्मक आराधना, पारिवारिक आराधना जस्ता विशेष अवसरका आराधनाहरू पनि गर्न सकिन्छ ।

आराधनाका ढाँचा

बाइबलमा आराधनाको आधारभूत ढाँचा यही नै हो भनेर लेखिएको त छैन तर येशूज्यू र प्रेरितहरूको कार्यलाई हेरेमा सुरुको मण्डलीको आराधनाको ढाँचा देख्न सकिन्छ । सुरुको मण्डलीको समयमा विभिन्न ठाउँहरूमा आराधना गरिन्थ्यो, जस्तै सन्तहरूको घरमा, बाहिरी

ठाउँहरूमा, र यहूदीहरू भेला हुने सभाघरहरूमा आदि ।

  • प्रवचन : येशूज्यूले शबाथ-दिनमा सभाघरमा गएर प्रवचन दिनुहुँदै उदाहरण देखाउनुभयो ।[३०][३१] प्रेरितहरूले पनि सभाघरमा आराधना गर्दै प्रवचन दिए ।[३२]
  • प्रार्थना : आराधनालाई प्रार्थना समय पनि भन्न सकिन्छ । पावल र सिलासले शबाथ-दिनमा आराधना गर्ने ठाउँ खोजेका कुरालाई बाइबलमा, तिनीहरूले ‘प्रार्थना गर्ने ठाउँ’ खोजेका थिए भनेर लेखिएको पाइन्छ ।[३३]
  • प्रशंसा : आराधना समयमा प्रशंसा पनि सँगै गरिन्छ । सन्तहरू एकसाथ भेला हुँदा भजन गाउनुपर्छ, वचन अध्ययन गर्नुपर्छ भनेर प्रेरित पावलले बताएका छन् ।[३४]
  • चाडको धर्मविधि: चाडको आराधनाको अर्थअनुसार केही चाडहरूमा विशेष धर्मविधि गरिन्छ । बाइबलमा हेर्दा, निस्तार-चाडमा पवित्र भोज र पुनरुत्थानको दिनमा रोटी भाँचेर खाएको कुरा लेखिएको छ ।[३५][३६]

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्री

  1. "उत्पत्ति ४:१-५" 
  2. "उत्पत्ति ८:२०-२१" 
  3. "उत्पत्ति १२:७" 
  4. "उत्पत्ति १५:९" 
  5. "प्रस्थान २९:४१-४२" 
  6. "गन्ती १५:५-६" 
  7. "हिब्रू १०:१" 
  8. "हिब्रू ७:२७" 
  9. "रोमी ५:६-११" 
  10. "हिब्रू १०:८-१८" 
  11. "यशैया ५९:१-२" 
  12. "लेवी ४:१३-२०" 
  13. "लेवी ५:१८-१९" 
  14. "१ कोरिन्थी ५:७" 
  15. "एफिसी २:१२-१९" 
  16. "भजनसंग्रह ५०:४-५" 
  17. "१ कोरिन्थी ८:५" 
  18. "यर्मिया १०:११" 
  19. "लेवी २६:१२" 
  20. "यूहन्ना ४:२३" 
  21. "यशैया ५९:१-२" 
  22. "लेवी ४:१३-२०" 
  23. "लेवी ५:१८-१९" 
  24. "१ राजा ३:४-१४" 
  25. "२ शमूएल ६:९-११" 
  26. "यशैया २९:१३-१४" 
  27. "एफिसी १:७-९" 
  28. "लेवी २३:१-४४" 
  29. "गन्ती १९:१-२२" 
  30. "मर्कूस १:२१" 
  31. "लूका ४:१६" 
  32. "प्रेरित १३:१३-४४" 
  33. "प्रेरित १६:१३" 
  34. "१ कोरन्थी १४:२६-४०" 
  35. "१ कोरिन्थी ११:२३-२६" 
  36. "प्रेरित २०:७"