अन्तिम भोज

परमेश्वरको मण्डली विश्वकोशबाट
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

अन्तिम भोजले, येशू ख्रीष्टले क्रूसमा मृत्यु भोग्नुभन्दा अघिल्लो रात आफ्ना चेलाहरूसँग मान्नुभएको अन्तिम भोजलाई जनाउँछ । यसको बाइबलीय नाउँ निस्तार-चाडको पवित्र भोज हो । योचाहिँ पुनर्जागरणको युगमा ईटालीका चित्रकार लियोनार्दो दा भिन्सीद्वारा चित्रित भित्तेचित्रको रूपमा परिचित छ ।[१] अन्तिम भोज अर्थात् निस्तार-चाडको दृश्यबारे लेखिएको सुसमाचारका ४ वटा पुस्तकहरूमा यस विश्व प्रसिद्ध चित्रको कलात्मक मूल्यको पछाडि मानव-जातिलाई मुक्ति दिलाउने ख्रीष्टको करार लुकेको छ भनी देख्न सकिन्छ । कारण अन्तिम निस्तार-चाडको पवित्र भोजमा येशूज्यूले सारा मानव-जातिलाई पाप-क्षमा र अनन्त जीवन दिनको निम्ति जीवनको व्यवस्था स्थापना गर्नुभयो ।

अन्तिम भोजको रूपमा परिचित निस्तार-चाडको पवित्र भोजमा येशूज्यूले पाप-क्षमा र अनन्त जीवनको प्रतिज्ञा भएको नयाँ करार स्थापना गर्नुभयो ।

उत्कृष्ट कलाकृतिको सामग्री

अन्तिम भोजचाहिँ प्रायः पश्चिमी धार्मिक कलामा प्रयोग गरिने एक ऐतिहासिक सामग्री हो ।[२] प्रारम्भिक ख्रीष्टियान गुफा-चिहानहरूमा पनि, यसमा आधारित भित्तेचित्रहरू देख्न सकिन्छ । यसमा, येशूज्यूले क्रूसमा कष्ट भोग्नुभन्दा अघिल्लो दिन, आफ्ना १२ जना चेलाहरूसँगै भोजन गर्नुभएको कुरा चित्रण गरिएको छ । विगतमा, चित्रकारहरूले आफूले चाहेको चित्र कोर्नेभन्दा पनि अरूको अर्डरअनुसार चित्र कोर्ने गर्थे । त्यस बेलाका ग्राहकहरू प्रायः कुलीन मानिसहरू र पूजाहारीहरू भएकाले, त्यो समयका कलात्मक कामहरू ऐतिहासिक वा धार्मिक चित्रहरूमा केन्द्रित हुन्थ्यो । विशेष गरी, आयुक्तहरू र चित्रकारहरूले मुक्तिको अर्थलाई झल्काउन, साथै मृत्युअघि येशूज्यूको अन्तिम भोजन, र चेलाको विश्वासघात आदि अन्तिम भोजमा समाविष्ट चिन्तित भावहरूलाई चित्रकलाद्वारा व्यक्त गर्न चाहन्थे ।[३]

येशूज्यूको अन्तिम भोजको दृश्यलाई थुप्रै चित्रकारहरूले कोरेका छन् । पुनर्जागरण चित्रकलाका अग्रगामी गियोटो डि बोन्डोनद्वारा चित्रित अन्तिम भोज,[४] उत्तरी पुनर्जागरणको विशेषताहरू देखाउने डिएरिक बाउट्सद्वारा चित्रित अन्तिम भोज,[५] स्पेनी चित्रकार हुआन देहुआनेसद्वारा चित्रित अन्तिम भोज इत्यादि । तर तीमध्ये[६] सर्वप्रियचाहिँ लियोनार्दो दा भिन्चीद्वारा चित्रित अन्तिम भोज हो ।

लियोनार्दो दा भिन्सीद्वारा चित्रित अन्तिम भोज

लियोनार्दो दा भिन्चीले सन् १४९५देखि करीब २ वर्ष लगाएर ईटालीको मिलान सान्टा मारिया डेले ग्राजीको भोजनालयको भित्तामा यो चित्र कोरे । तिनको सिर्जना, सुन्दरता र उत्कृष्ट विषयलाई सम्हाल्ने उत्तम तरिकाका कारण यो कृतिलाई पुनर्जागरणको उत्कृष्ट कृतिको रूपमा मूल्याङ्कन गरिएको हो । अस्ट्रियामा जन्मेका एक जना बेलायती कला इतिहासकार अर्न्स्ट ह्यान्स जोसेफ गोम्ब्रिचले, लियोनार्दो दा भिन्चीको अन्तिम भोजलाई “मानव प्रतिभाले गरेको महान् चमत्कारमध्येको एक” भनेका छन् ।[७] यसबाहेक धेरै विद्वान्‌हरू र आलोचकहरूले पनि यो कलाको उच्च प्रशंसा गरेका छन् । तीमध्ये एन्डी वार्होलले यसको मूल्यको कदर गर्दै समयको पर्वाह नगरी यसैको आधारमा कृतिहरू रचना गरे ।[८] साथै यो कृतिलाई युनेस्कोको विश्व सम्पदा सूचीमा पनि राखिएको छ ।[९]

अन्तिम भोज, लियोनार्दो दा भिन्सी (सन् १४५२-१५१९)

विषयवस्तु र दृश्य

यो कृतिको मुख्य विषयवस्तु ‘अन्तिम भोज’ हो, जुन येशूज्यूले क्रूसमा मृत्यु भोग्नुभन्दा अघिल्लो दिन आफ्ना चेलाहरूसँगै खानुभएको थियो । येशूज्यूले, एक जना चेलाले उहाँलाई पक्राइदिनेछ भनेर भन्नुहुँदा, चेलाहरूको प्रतिक्रियालाई यो दृश्यमा चित्रण गरिएको छ ।[१०][११] येशूज्यूले यो कसको विषयमा भन्नुभएको हो भन्ने कुरा अनिश्चित भएर चेलाहरूले एक-अर्कालाई हेराहेर गरेका कुरा यूहन्नाको सुसमाचारमा लेखिएको छ ।[१२] लियोनार्दो दा भिन्चीले यही क्षणको चित्र कोर्न चाहेका थिए । चित्रमा येशूज्यू र उहाँका चेलाहरूको विभिन्न किसिमका अभिव्यक्ति र हाउभाउ देख्न सकिन्छ ।


“साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूमध्ये एक जनाले मलाई पक्राइदिनेछ ।” उहाँले कसको विषयमा भन्नुभएको हो भनी अनिश्चित भएर चेलाहरूले एक-अर्कालाई हेराहेर गरे । . . . तब सिमोन पत्रुसले तिनलाई इशारा गरेर सोधे, “उहाँले यो कसको विषयमा भन्नुभएको हो ?” येशूको छातीमा त्यसरी अड़ेस लागेर नै तिनले उहाँलाई सोधे, “प्रभु, त्यो को हो ?”

यूहन्ना १३:२१-२५


UNESCO विश्व सम्पदा सम्मेलनको वर्णनअनुसार ख्रीष्टका दुवै छेउमा ३-३ जनाको दरले रहेका ४ समूहको चित्रण गरिएको थियो । चित्रको बायाँपट्टि पहिलो समूहमा बारथोलोमाइ, अल्फयसका छोरा याकूब र येशूज्यूको वचन सुनेर छक्क परेका अन्द्रियास छन् । दोस्रो समूहमा पत्रुस, यहूदा र यूहन्ना छन् । उग्र स्वभावका पत्रुसचाहिँ यूहन्नातिर अडेस लागेर कानेखुसी गरिरहेका छन्, र यूहन्नाचाहिँ अजानमा यहूदालाई अगाडि ठेलिरहेका छन् । यहूदाको उपस्थितिलाई पनि अरूहरूको जत्तिकै जोड दिइएको छ । बीचदेखि दायाँतिरको तेस्रो समूहमा, येशूज्यूलाई छक्क परेर हेर्ने थोमा, यूहन्नाका भाइ याकूब, र आफ्नो ईमानदारितालाई निश्चित गर्न जोशिला देखिएका फिलिप छन् । दायाँपट्टिको चौथो समूहमा मत्ती, थेदियस र सिमोन छन् । तिनीहरू आपसी छलफलमै व्यस्त भएकाले तिनीहरूको ध्यान येशूज्यूतिर छैन । अन्तिम भोजमा केही साङ्केतिक कुराहरू पनि चित्रण गरिएको पाइन्छ । पत्रुसको हातमा भएको चक्कुले चाहिँ भविष्यमा तिनले, येशूज्यूलाई पक्रन खोज्ने सिपाहीको कान छिनाउनलाई प्रयोग गर्ने कुरालाई दर्शाउँछ । अनि यहूदाको हातमा भएको पैसाको थैलीले चाहिँ, यहूदाले ३० चाँदीका सिक्कामा येशूज्यूलाई पक्राइदिने कुरालाई सङ्केत गर्दछ ।[१३][१४] टेबिलमा राखिएको रोटी र दाखमद्यचाहिँ केवल रात्री भोजन मात्र होइन तर त्यसले भोलिपल्ट येशूज्यूले क्रूसमा बगाउनुहुने उहाँको देह र रगतलाई सङ्केत गर्दछ ।[१५]

चित्रको संरचना र कोर्ने कला

१५औँ शताब्दीतिर फ्लोरेन्समा यही विषयसँग सम्बन्धित चित्रहरूमा, चेलाहरूलाई येशूज्यूको दुवैपट्टि राखिएको तर यहूदालाई चाहिँ छुट्टै राखिएको देख्न सकिन्छ । दा भिन्चीको चित्रमा चाहिँ यहूदालाई छुट्टै राखिएको छैन तर चेलाहरूका माझमा नै राखिएको देखिन्छ ।[१६]

अझ भन्नुपर्दा, तिनले समतल सतहमा गहिराइको दृष्टिभ्रम सिर्जना गर्न रेखीय परिदृश्यलाई सदुपयोग गरे, जुनचाहिँ पुनर्जागरण कलाको विशेषता नै हो । येशूज्यूको शिरमा अवस्थित लोप बिन्दुलाई केन्द्र बनाएर परिदृश्यलाई व्यक्त गरिएको छ । यसले चित्रमा रहेको पर्खाललाई वास्तविक पर्खालसँग जोडिएको जस्तो, अनि हलको कुनातिर अन्तिम भोज गरिएको जस्तो देखाउँछ । साथै उही विषयवस्तु भए तापनि यसअघि कोरिएका चित्रहरूभन्दा फरक, यो चित्रमा चाहिँ येशूज्यू र उहाँका चेलाहरूको शिरमा प्रकाशचक्र राखिएको छैन । यस चित्रमा दा भिन्चीले येशूज्यूको पछाडिका ३ वटा झ्यालहरूबाट आएको उज्यालो प्रकाशले येशूज्यूलाई घेरेको कुरा चित्रण गरेका छन् । तिनले पात्रहरूमा त्रि-आयामिक प्रभाव सिर्जना गर्न प्रकाशको प्रयोग गरे, र कपडाहरूमा मुजा र टेबिलमा प्लेटहरू जस्ता थोकलाई स्पष्टसँग चित्रण गरेका छन् ।

“ यो चित्रमा उही विषयवस्तुका पुराना प्रतिनिधित्वसँग मिल्दोजुल्दो हुने कुरा केही छैन । यी परम्परागत चित्रहरूमा, प्रेरितहरू टेबिलमा पङ्तिबद्ध रूपमा शान्तसँग बसेको स्वरूप प्रायः देखिन्छ । केवल यहूदा मात्र अरूहरूबाट अलग बसेको छ, र येशूज्यूले विनम्रतापूर्वक पवित्र धर्मविधि सुरु गरिरहनुभएको छ । नयाँ चित्रचाहिँ यी अन्य चित्रहरूभन्दा धेरै फरक छ । “
— कलाको कहानी, अर्न्स्ट ह्यान्स जोसेफ गोम्ब्रिच

दा भिन्चीले पनि, चित्रकला प्रविधिको पुरानो तरिका प्रयोग नगर्ने निर्णय गरे । एउटा उत्कृष्ट कलाकृति सिर्जना गर्नका लागि, तिनले अण्डाको पहेँलो भागको रङ्गद्वारा चित्र कोरिने टेम्पेरा प्रविधिको प्रयोग गरे, र फ्रेस्को प्रविधि प्रयोग गरेनन् । किनभने फ्रेस्को प्रविधिमा चाहिँ एक चोटि चित्र बनाएपछि त्यसलाई परिमार्जन गर्न गाह्रो पर्थ्यो । टेम्पेरा प्रविधिमा, उज्याला रङ्गहरू देखिने र विस्तृत रूपमा वर्णन गर्न सकिने फाइदा थियो । तर भित्ते-चित्रहरूमा चाहिँ यो सजिलै उप्किने भएकोले यसमा बेफाइदा पनि थियो । परिणामस्वरूप दा भिन्सीद्वारा चित्रित ‘अन्तिम भोज’को चित्रमा ढुसी र चिरा देखिन थाल्यो, अनि भोजनालयमा चिसोको कारणले त्यो चित्र उप्किन थाल्यो ।

भनिन्छ, १६औँ शताब्दीको प्रारम्भतिर यी चित्रहरूको अवस्था बिग्रिसकेको थियो,[१७] अनि तीमाथि बाढी र युद्धका कारण यसले आफ्नो वास्तविक रूप गुमाइसकेको थियो ।[१८] सन् १९७०को दशकको अन्ततिर ईटाली सरकारले त्यो चित्रलाई पुनर्स्थापन गर्न थाल्यो, र पुनर्स्थापनपछि त्यो चित्रलाई सन् १९९९मा सार्वजनिक गरिदियो ।[१९] चित्रमा कुनै क्षति नहोस् भनेर प्रत्येक व्यक्तिलाई अवलोकन समय १५ मिनेट मात्र दिइएको थियो । तापनि यस उत्कृष्ट कलाकृति हेर्न मिलानमा आउने मानिसहरूको घुइँचो थियो ।[२०]

अन्तिम भोज(The Last Supper)को बाइबलीय नाउँ, निस्तार-चाड

अन्तिम भोज(The Last Supper)को बाइबलीय नाउँ निस्तार-चाड हो ।[१५][२१] अङ्ग्रेजी शब्दकोशमा ‘Supper(रात्रीभोज)’ले साँझमा खाइने मुख्य भोजनलाई, अर्थात् पाहुनाहरूलाई निमन्त्रणा गरेर सँगै खाइने भोजलाई जनाउँछ ।[२२] Supper(रात्रीभोज) भन्ने शब्दको अर्थजस्तै, निस्तार-चाड पवित्र पात्रोअनुसार पहिलो महिनाको १४औँ दिनको साँझमा मनाइन्छ ।[२३] त्यसैले येशूज्यूले पनि १२ जना चेलाहरूसँगै साँझमा निस्तार-चाड मान्न यो दिनको प्रतीक्षा गर्नुभयो ।[१०][१५]


तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार-चाडको प्रबन्ध मिलाए । साँझ भएपछि उहाँ बाह्रै चेलाहरूसँग खान बस्नुभयो । . . . तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो ।” तब कचौरा पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ । किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ ।”

मत्ती २६:१९-२८


कसै-कसैले बाइबलको निस्तार-चाड भनेको येशूज्यू पुनरुत्थान हुनुभएको दिन हो भनेर गलत तरिकाले बुझ्ने गर्छन् । तर बाइबलमा हेर्दा निस्तार-चाडचाहिँ येशूज्यूले कष्ट[२४] भोग्नुभन्दा अघिल्लो रातमा मनाइएको पाइन्छ । अनि यस पवित्र रात्रीभोज येशूज्यूको पुनरुत्थानको सम्झनामा होइनकि उहाँको मृत्युको सम्झनामा मनाइन्छ ।[२५]

निस्तार-चाडको धर्मविधि

यहूदा इस्करियोतले येशूज्यूलाई विश्वासघात गरेर पक्राइदिने कुरा, उहाँका चेलाहरू भाग्ने कुरा र उहाँले चरम कष्ट र पीडामा मृत्यु भोग्नुहुने कुरा येशूज्यूलाई पहिल्यै थाहा थियो । दर्दनाक मृत्युको मुखमा पनि येशूज्यूले बाइबलका सबै अगमवाणीहरू पूरा गर्नको निम्ति अन्तिम भोज रहेको नयाँ करार निस्तार-चाडको प्रबन्ध मिलाउनुभयो र चाड मान्नुभयो । निस्तार-चाडमा गोडा धुने धर्मविधि र पवित्र भोज समावेश हुन्छ । गोडा धुने धर्मविधिचाहिँ पवित्र भोज गर्नुअघि येशूज्यू स्वयम्‌ले चेलाहरूको गोडा धोइदिनुभएको त्यो उदाहरणलाई जनाउँछ ।[२६] गोडा धुने धर्मविधि गरेपछि, येशूज्यूको पवित्र देह र रगतमा सहभागी हुन सकिने निस्तार-चाडको पवित्र भोज गरिन्छ ।

पवित्र भोज गर्नुअघि येशूज्यू स्वयम्ले चेलाहरूका गोडा धुनुभयो ।
पवित्र भोज गर्नुअघि येशूज्यू स्वयम्ले चेलाहरूका गोडा धुनुभयो ।
वर्गीकरण विषयवस्तु
तयारी येशूज्यूले पत्रुस र यूहन्नालाई पठाउनुभएर निस्तार-चाडको भोजको प्रबन्ध मिलाउन लगाउनुभयो । येशूज्यूको आदेशअनुसार चेलाहरूले निस्तार-चाडको प्रबन्ध मिलाए ।[२७][२८][२९]
गोडा धुने धर्मविधि निस्तार-चाडको साँझमा, चेलाहरू मर्कूसको माथिल्लो तलामा भेला भए र येशूज्यू स्वयम्‌ले तिनीहरूका गोडा धोइदिनुभयो ।[३०] चेलाहरूका गोडा धोइदिनुभएपछि, उहाँले तिनीहरूलाई “मैले तिमीहरूलाई दिएको उदाहरणबमोजिम गर” भन्नुभयो ।[२६]
निस्तार-चाडको पवित्र भोज येशूज्यूले चेलाहरूलाई उहाँको देह र रगतलाई सङ्केत गर्ने निस्तार-चाडको रोटी र दाखमद्य खान र पिउन दिनुहुँदै, पाप-क्षमा र अनन्त जीवनको प्रतिज्ञाद्वारा नयाँ करार स्थापना गर्नुभयो ।[३१][३२][३३]

निस्तार-चाडमा समाविष्ट आशिष्‌

जीवनको आखिरी घडीमा आफ्ना चेलाहरूसँग निस्तार-चाडको भोजन खानु नै येशूज्यूको ठूलो इच्छा थियो ।[१५] त्यो दिनचाहिँ येशूज्यू यो पृथ्वीमा आउनुको उद्देश्य पूरा भएको दिन थियो ।[३४][३५] येशूज्यू मानव-जातिलाई बचाउन आउनुभएको हो ।[३६][३१] पापले गर्दा मर्नुबाहेक अर्को विकल्प नभएका मानव-जातिका लागि मुक्ति भनेको नै अनन्त जीवन प्राप्त गर्नु हो । येशूज्यूले कफर्नहुमको सभाघरमा शिक्षा दिनुहुँदा, “तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने तिमीहरूमा जीवन हुँदैन” भनेर स्पष्टसित भन्नुभयो ।[३७] आफैमा अनन्त जीवन हुनुभएका येशूज्यूको देह खाने र उहाँको रगत पिउने तरिका भनेकै निस्तार-चाड हो । साथै येशूज्यू स्वयम्‌ले आफ्ना चेलाहरूलाई निस्तार-चाडको प्रबन्ध मिलाउन लगाउनुभयो ।[२७] अनि उहाँको देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्य खान र पिउन भन्नुभयो ।[३१] येशूज्यू मानव-जातिलाई बचाउन आउनुभएकोले उहाँले पाप-क्षमा र अनन्त जीवनको प्रतिज्ञा समाविष्ट नयाँ करार निस्तार-चाड मान्ने ठूलो इच्छा गर्नुभयो ।


येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन । मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ, र अन्त्यको दिनमा म त्यसलाई जीवित पार्नेछु ।”

यूहन्ना ६:५३-५४


येशूज्यूको अन्तिम इच्छा, नयाँ करार

निस्तार-चाडको भोजमा येशूज्यूले दाखमद्य लिनुभयो र त्यसलाई, उहाँको रगतमा स्थापित गरिने ‘नयाँ करार’ भनेर घोषणा गर्नुभयो । साथै उहाँले आफ्ना चेलाहरूलाई “यो मेरो सम्झनामा गर्ने गर” भन्नुभयो । अर्थात् परमेश्वरका प्रजाले नबिर्सीकन अन्त्यसम्म निस्तार-चाड मान्नुपर्छ भन्ने वचन हो ।[३३] नयाँ करारचाहिँ येशूज्यूको मृत्यु हुनुभन्दा अघिल्लो रात घोषणा गरिएको हुनाले यसलाई येशूज्यूको इच्छा-पत्र पनि भन्न सकिन्छ ।[३८] इच्छा-पत्रचाहिँ कसैको मृत्युपछि मात्र प्रभावकारी हुन्छ । त्यसै गरी येशूज्यूको इच्छा-पत्र रहेको नयाँ करार निस्तार-चाड पनि उहाँको मृत्युपछि प्रभावकारी भयो । सुरुको मण्डलीले येशूज्यूको क्रूसको बलिदानपछि पनि, ख्रीष्टको इच्छा-पत्रअनुसार निस्तार-चाड मान्दै उहाँको मृत्युलाई सम्झना गरे ।[२५] येशूज्यूको प्रेम र बलिदानलाई सम्झना गर्न र मुक्तिको सत्यता प्रचार गर्न प्रेरित र सुरुको मण्डलीका सन्तहरूले सारा हृदयले नयाँ करार पालन गरे, अनि कष्ट र सतावटमा पनि विश्वासलाई जोगाइराखे ।[३९]


नयाँ ढिका बन्नलाई पुरानो खमिरलाई निकाल, किनकि तिमीहरू वास्तवमा अखमिरी नै हौ । हाम्रो निस्तारको थुमा, ख्रीष्टको बलिदान भइसकेको छ । यसकारण हामी . . . चाड मनाऔं . . .

१ कोरिन्थी ५:७-८


यो पनि हेर्नुहोस्

सम्बन्धित भिडियो

  • [FactPlus] येशूज्यूको अन्तिम इच्छा

सन्दर्भ सामग्रीहरू

  1. ↑ "अन्तिम भोज"। Encyclopedia.com। 
  2. ↑ "दा भिन्ची र अन्य कलाकारहरूले व्याख्या गरेको अन्तिम भोज"। LIBERTY VOICE। अप्रिल १७, २०१४। 
  3. ↑ लियोनार्दो दा भिन्चीद्वारा कोरिएको अन्तिम भोज, Britannica
  4. ↑ "अन्तिम भोज"। The History of Art। 
  5. ↑ रोबर्ट सुकाले, प्रारम्भिक पुनर्जागरण, Early Renaissance, Masterpieces of Western Art: A History of Art in 900 Individual Studies from the Gothic to the Present Day, TASCHEN; पुनर्प्रिन्ट संस्करण, पेज १३०, सन् २००२ सेप्टेम्बर १,
  6. ↑ स्टिफन फार्थिङ, मर्नुअघि हेर्नुपर्ने १,००१ चित्रहरू, London : Cassell Illustrated, सन् २००६
  7. ↑ The Story of Art Paperback, इ.एच्. गोम्ब्रिच, फाइडन प्रेस, १६औँ संस्करण, सन् १९९५ अप्रिल ९, पेज २१७, ISBN-10:0714832472
  8. ↑ Leonardo da Vinci, the Last Supper, A Cosmic Drama and an Act of Redemption, The painting's influence through the centuries, टेम्पल लज प्रकाशन, सन् २००५, पेज ८६-८७, ISBN : 1902636759
  9. ↑ "Church and Dominican Convent of Santa Maria delle Grazie with "The Last Supper" by लियोनार्दो दा भिन्ची"। UNESCO। 
  10. ↑ १०.० १०.१ "मत्ती २६:२०-२२"। 
  11. ↑ The Story of Leonardo Da Vinci 500 Years After His Death, आन्टोन आर.ई. पिएरुची, एट्लान्टिक प्रकाशन
  12. ↑ "यूहन्ना १३:२१-२२"। 
  13. ↑ "अन्तिम भोज"। Britannica। 
  14. ↑ "अन्तिम भोज"। Khan Academy। 
  15. ↑ १५.० १५.१ १५.२ १५.३ "लूका २२:१५-२०"। 
  16. ↑ "अन्तिम भोज"। ला स्याल्ले विश्वविद्यालय डिजिटल कमन्स। 
  17. ↑ "Leonardo's Last Supper restored: A wreck, but an authentic wreck"। द आर्ट न्यूजपेपर। नोभेम्बर १, १९९८। 
  18. ↑ "हामीले दा भिन्चीको अन्तिम भोजलाई झण्डै सदाको लागि गुमाएको दिन !"। रियरभिउ मिरर। अगस्ट १५, २०१४। 
  19. ↑ "दा भिन्चीको पहेली : अन्तिम भोजको पुनर्स्थापना"। BBC News। १९९९। 
  20. ↑ "विश्वप्रसिद्ध चित्रमध्येको एक रहेको 'अन्तिम भोज'सँगको मेरो १५ मिनेट"। द स्टार। अगस्ट २७, २०२२। 
  21. ↑ "लियोनार्दो दा भिन्ची"। HISTORY.COM। 
  22. ↑ "रात्री भोज"। Cambridge Dictionary। 
  23. ↑ "लेवी २३:५"। 
  24. ↑ "लूका २२:१५"। 
  25. ↑ २५.० २५.१ "१ कोरिन्थी ११:२३-२६"। 
  26. ↑ २६.० २६.१ "यूहन्ना १३:१४-१५"। 
  27. ↑ २७.० २७.१ "मत्ती २६:१७-१९"। 
  28. ↑ "मर्कूस १४:१२-१६"। 
  29. ↑ "लूका २२:७-१३"। 
  30. ↑ "यूहन्ना १३:१-५"। 
  31. ↑ ३१.० ३१.१ ३१.२ "मत्ती २६:२६-२८"। 
  32. ↑ "मर्कूस १४:२२-२४"। 
  33. ↑ ३३.० ३३.१ "लूका २२:१९-२०"। 
  34. ↑ "लूका १९:१०"। 
  35. ↑ "यूहन्ना १०:१०"। 
  36. ↑ "रोमी ६:२३"। 
  37. ↑ "यूहन्ना ६:५३-५४"। 
  38. ↑ "हिब्रू ९:१५-१७"। 
  39. ↑ "हिब्रू ११:३३-३८"।