शरीरमा आउनुभएका परमेश्वर(देह धारण)

परमेश्वरको मण्डली विश्वकोशबाट
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

शरीरमा परमेश्वरको आगमन(देह धारण)चाहिँ ख्रीष्टियान धर्मको सार हो ।[१][२] २,००० वर्षअघि सुरुको मण्डलीले विश्वास गरेको येशूज्यूलाई, अहिले विश्व जनसंख्याको ३०%भन्दा बढी ख्रीष्टियानहरूले[३] शरीरमा आउनुभएका परमेश्वरको रूपमा विश्वास गर्छन् ।[४][५] सुरुको मण्डलीले येशूज्यूलाई मुक्तिदाताको रूपमा विश्वास गर्नुको कारणचाहिँ ख्रीष्टसम्बन्धी बाइबलका सबै अगमवाणीहरू येशूज्यूले सबै पूरा गर्नुभएकोले गर्दा हो । मानव-जातिको मुक्तिको निम्ति ख्रीष्ट मानिसको रूपमा फेरि आउनुहुनेछ भनेर बाइबलमा अगमवाणी गरिएको छ ।[६] परमेश्वरको मण्डलीले विश्वास गर्ने दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यूको विषयमा पनि बाइबलमा, पहिलो आगमनको विषयमा जसरी स्पष्टसँग लेखिएको छ ।

शरीरमा आउनुभएका परमेश्वरलाई विश्वास गर्ने ख्रीष्टियान धर्म

ख्रीष्टियान धर्मचाहिँ मानिसको रूपमा आउनुभएका परमेश्वरलाई विश्वास गर्ने कुरामा आधारित छ । ख्रीष्ट भन्ने शब्दचाहिँ ग्रीक शब्द Χριστός (ख्रिस्तोस्)को लिप्यन्तरण हो,[७] जसको अर्थ हो, अभिषिक्त जन हो ।[८][९] मुक्तिदाता परमेश्वर मानिसको रूपमा आउनुहुनेछ भन्ने विषयका थुप्रै अगमवाणीहरू बाइबलमा लेखिएका छन् । जसमध्येको एकचाहिँ यशैया अगमवक्ताद्वारा लिखित अगमवाणी हो । ई.पू. ७००तिर यशैया अगमवक्ताले, सर्वशक्तिमान् परमेश्वर बालकको रूपमा जन्मनुहुनेछ भनेर अगमवाणी गरे ।[१०][११] यो अगमवाणी, ख्रीष्टियान आस्थाका केन्द्र हुनुभएका येशूज्यूद्वारा पूरा भयो ।[१२][१३]

परमेश्वरको शक्ति र देह धारण

शरीरमा आउनुभएका परमेश्वरप्रतिको मानिसहरूको अनिच्छाचाहिँ ‘मानिस परमेश्वर बन्न सक्दैन’ भन्ने सोचाइबाट आउँदछ । निश्चय नै मानिस, जो सृष्टिको थोक हो, ऊ कदापि सृष्टिकर्ता परमेश्वर बन्न सक्दैन । तर आदिमा वचनद्वारा यावत् थोक सृष्टि गर्नुभएका, र प्रस्थानको समयमा लाल समुद्र दुई भाग गर्नुभएका सर्वशक्तिमान् परमेश्वरचाहिँ जुनसुकै बेलामा पनि मानिसको रूपमा आउन सक्नुहुन्छ ।[१४] परमेश्वर मानिसको रूपमा देखा पर्नुभएका थुप्रै दृश्यहरू पुरानो र नयाँ करार बाइबलमा थुप्रै देख्न सकिन्छ । पुरानो करारको समयमा यहोवा परमेश्वर दुई जना स्वर्गदूतहरूसँगै एक बटुवाको रूपमा अब्राहामकहाँ देखा पर्नुभयो र तिनीकहाँ भोजन पनि गर्नुभयो । त्यसै गरी नयाँ करारको समयमा येशूज्यू कन्या मरियमको गर्भबाट बालकको रूपमा जन्मनुभयो । यसरी परमेश्वर आत्मिक रूपमा मात्र रहनुहुने होइन तर शरीरमा पनि देखा पर्न सक्नुहुन्छ ।[१५]

डच चित्रकार पौलस पोट्टरको चित्र, अब्राहामको सामु देखा पर्नुभएका परमेश्वर (सन् १६४२)


  • अब्राहामका सामु एक बटुवाको रूपमा देखा पर्नुभएका परमेश्वर

दिउँसोको गर्मीमा मम्रेका फलाँटका रूखहरूनेरको आफ्नो पालको ढोकामा अब्राहाम बसिरहँदा परमप्रभु तिनीकहाँ देखा पर्नुभयो । तिनले आफ्ना आँखा उठाएर हेरे, र आफ्नो सामु तीन जना मानिसहरू उभिरहेका देखे ।

उत्पत्ति १८:१-२


  • पवित्र आत्माद्वारा मरियमको गर्भबाट जन्मनुभएका येशूज्यू

येशू ख्रीष्टको जन्म यस प्रकारले भयो: उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो । . . . “तिनले एउटा पुत्र जन्माउनेछिन्, र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ ।”

मत्ती १:१८-२१


शरीरमा आउनुभएका परमेश्वर, येशू ख्रीष्ट

इजिप्टको सीनै पहाडमा अवस्थित सेन्ट क्याथेरिन मठमा रहेको काठे प्यानल पेन्टिङ (छैटौँ शताब्दीतिरको), क्राइस्ट प्यान्टोक्रेटर
ख्रीष्टको रूप, सन् १८८०को दशकतिर जर्मन चित्रकार हेन्रिक हफम्यानको पेन्टिङ । येशूज्यूलाई ज्योतिर्मय र प्रतापी भनेर रहस्यमय तरिकाले चित्रण गरिएको छ, जुन स्वरूप बाइबलमा वर्णन गरिएको भन्दा बिलकुल फरक छ ।

पवित्र चित्रकला र चलचित्रहरूमा, येशूज्यूलाई रूपवान् मानिसको रूपमा रहस्यमय तरिकाले चित्रण गरिएको प्रायः देखिन्छ । तर यी कुराहरूचाहिँ येशूज्यूसम्बन्धी लेखिएका बाइबलीय अभिलेखहरूभन्दा फरक छन् । यशैया अगमवक्ताका अनुसार येशूज्यू सुक्खा जमिनबाट निस्केको जरोजस्तो देखिनुहुन्थ्यो, जससित हामीलाई आकर्षण गर्ने न केही सुन्दरता न त चमक नै थियो । आफूहरूलाई रोमीहरूको दमनबाट छुटकारा गराउन मसीह अलौकिक स्वरूपमा आउनुहुनेछ भनेर प्रतीक्षा गरेका यहूदीहरूले मुक्तिदाता येशूज्यूलाई इन्कार गर्नुको एउटा कारण यो पनि थियो । येशूज्यूको जीवन र जीवनपद्धतिलाई हेरेका हुनाले पनि तिनीहरूले उहाँलाई मुक्तिदाताको रूपमा चिन्न सकेनन् । येशूज्यूको शारीरिक पक्षहरूलाई मात्र हेरेका हुनाले यहूदीहरूले मुक्तिदातालाई इन्कार गरे, र अन्ततः उहाँलाई क्रूसमा टाँगे । तर बाइबलको अगमवाणीलाई हेरेका प्रेरितहरूले भने येशूज्यू मानिसको रूपमा आउनुभए तापनि उहाँलाई मुक्तिदाताको रूपमा ग्रहण गरे ।

येशूज्यूको स्वरूप, जीवन र जीवनपद्धति

शताब्दीऔँदेखि पश्चिमी संस्कृतिले येशूज्यूलाई लामो कपाल र नीलो आँखा भएको गोरो मानिसको रूपमा चित्रण गर्दैआएको छ ।[१६] चौथो शताब्दीदेखि पूर्वी मण्डलीमा बाइजान्टिन साम्राज्यको संस्कृतिको प्रभाव पऱ्यो, र बाइजान्टिन कारीगरहरूले येशूज्यूको स्वरूपलाई चित्रण गर्न रोमी प्यान्थिअनमा शक्तिशाली र प्रतिष्ठित देवताका तस्वीरहरू सापटी ल्याए । छैटौँ शताब्दीतिर क्राइस्ट प्यान्टोक्रेटरले येशूज्यूलाई लामो कपाल र दाह्री भएको मानिसको रूपमा चित्रण गरे । पछि गएर पुनर्जागरणको युगमा, जब कलाकृतिहरू मानवतावादमा आधारित हुन थाले, तब चित्रकारहरूले आदर्श सौन्दर्यसहित येशूज्यूको चित्र कोर्न थाले । २०औँ शताब्दीतिर पश्चिमी समाजमा पुनर्जागरण संस्कृतिले येशूज्यूको चित्रलाई ठूलो प्रभाव पाऱ्यो । यसको विशिष्ट उदाहरण नै अमेरिकी व्यावसायिक कलाकार वार्नर स्याल्मनद्वारा कोरिएको येशूज्यूको चित्र हो । उक्त चित्रलाई काँच र पात्रोमा प्रयोग गरिन थालेदेखि यसले निकै प्रसिद्धि कमायो ।[१७][१८]

“ चौथो शताब्दीको प्रारम्भतिर देखिन थालेको लामो कपाल र दाह्री भएको येशूज्यूको तस्वीरचाहिँ ग्रीक र रोमी देवताहरू, विशेष गरी शक्तिशाली ग्रीक देवता जिउसको प्रतिनिधित्वबाट बढी प्रभावित भयो । त्यस बेलादेखि येशूज्यू लामो पोशाक लगाएर सिंहासनमा विराजमान हुनुभएको चित्र बनाउन थालियो (जस्तै पाँचौँ शताब्दीतिर रोमको सान्टा पुडेन्जियाना मण्डलीको वेदीमा भएको मोजाइक, अर्थात् रङ्गीबिरङ्गी चित्र), अझ कुनै चित्रमा त उहाँको शिरमा प्रकाशचक्र पनि राखिएको हुन्थ्यो । “
— HISTORY, "The Ongoing Mystery of Jesus's Face"

यसरी येशूज्यूको राजसी र रहस्यमय स्वरूप अनि प्रकाशचक्रचाहिँ लामो समयदेखि यसरी नै चल्दैआएको छ । यसकारण मानिसहरूले सोच्ने गरेको येशूज्यूको विशिष्ट स्वरूपचाहिँ युग र संस्कृतिद्वारा बनेको विकृत तस्वीर हो,[१९] जुनचाहिँ बाइबलमा वर्णन गरिएको येशूज्यूको स्वरूपभन्दा बिलकुल फरक छ । बाइबलमा, येशूज्यूचाहिँ सुक्खा जमिनबाट निस्केको जरोजस्तो, जससित हामीलाई आकर्षण गर्ने केही सुन्दरता थिएन भनेर वर्णन गरिएको छ ।


ऊ उहाँको सामु कलिलो बोटजस्तो र सुक्खा जमिनबाट निस्केको जरोजस्तो बढ्यो । ऊसित हामीलाई आकर्षण गर्ने न केही सुन्दरता न त महत्त्व नै थियो । उसको अनुहारमा हामीलाई मन पर्ने केही थिएन ।

यशैया ५३:२


मूलभूत रूपमा सर्वशक्तिमान् परमेश्वर हुनुभए तापनि मानिसको रूपमा आउनुभएका येशूज्यूको बाहिरी रूप एक आम मानिसको भन्दा केही फरक थिएन । शारीरिक रूपमा चाहिँ, उहाँ योसेफ र मरियमका छोरा हुनुहुन्थ्यो,[२०] र उहाँले सिकर्मी काम गर्नुहुन्थ्यो । अनि भोकाउनुहुँदा उहाँले भोजन गर्नुहुन्थ्यो र लामो यात्राका कारण थकाइ लाग्दा उहाँ एकैछिन आराम गर्नुहुन्थ्यो । यसकारण उहाँको भोजन, पहिरन अथवा दिनचर्या त्यस्तो विशेष थिएन ।[२१][२२][२३] हिजोआज मानिसहरू ती पुराना पवित्र चित्र र पेन्टिङहरू हेरेर ख्रीष्टलाई विश्वास गर्ने गर्छन् । तर २,००० वर्षअघिचाहिँ येशूज्यू एक आम मानिसजस्तै देखिनुभएकोले यहूदीहरूले उहाँलाई इन्कार गरेका थिए ।[२४] येशूज्यूले हात नधोई भोजन गर्नुभएको कुरा, अनि समाजले घृणित ठानेका कर उठाउनेहरू र वेश्याहरूसँग येशूज्यू बस्नुभएको कुरा नै ती यहूदीहरूले उहाँलाई मुक्तिदाताको रूपमा स्वीकार नगर्ने एउटा कारण बन्यो ।[२५][२६][२७]

ख्रीष्टलाई इन्कार गर्नेहरू

२,००० वर्षअघि इस्राएलचाहिँ रोमी साम्राज्यको उपनिवेश थियो । यहूदीहरूको एकमात्र आशा भनेकै मसीह आउनुभएर तिनीहरूलाई रोमको शासनबाट छुटकारा गराउनुहुने कुरा थियो ।[२८] तर मसीह येशूज्यू तिनीहरूका आँखाकै सामु देखा पर्नुहुँदा समेत तिनीहरूले उल्टै “तिमी मानिस भएर पनि आफैलाई परमेश्वर तुल्याउँछौ” भन्दै उहाँलाई इन्कार गरे ।[२९] त्यस बेला तिनीहरूले अपेक्षा गरेको मसीहको स्वरूपचाहिँ, तिनीहरूलाई रोमीहरूको दमनबाट छुटकारा गराउने अलौकिक शक्ति भएका सर्वशक्तिमान्‌को स्वरूप थियो । तर येशूज्यू तिनीहरूको आशाभन्दा ठीक विपरीत स्वरूपमा आउनुभयो ।

“ अन्यजातिहरूले हरेक कुरामा यहूदीहरूलाई हेप्ने भएकाले यहूदीहरूको मनमा अन्यजातिप्रति घृणा र क्रोधको भाव भरियो । यसबाहेक तिनीहरू भौतिकवादी र सांसारिक हुँदैगएकाले पनि तिनीहरूले, मानिसहरूबाट घृणा पाउनुभएका गरीब येशूज्यूलाई मसीहको रूपमा कल्पना पनि गर्न सकेनन् । अगमवक्ताहरूबाहेक अरू सबैले मसीहको स्वरूपचाहिँ शक्तिशाली स्वर्गदूतको जस्तै होला भनी कल्पना गर्थे । “
— नास्तिकहरूका लागि येशूज्यूको कहानी, जियोभानी पाफिनी, मेडिसी मिडिया, सन् २०१४

अन्ततः यहूदीहरूले आफूले व्यग्र तिर्सना गरेको मसीहलाई चिन्न सकेनन् । तिनीहरूले उहाँलाई इन्कार गरे, र क्रूसमा टाँगे । त्यो समयमा यहूदीहरू र धार्मिक नेताहरूले आकाशतिर मात्र हेर्दै मसीहको आगमनलाई प्रतीक्षा गरे । तिनीहरूले त्यसो गरिरहँदा, यता मसीहचाहिँ अघि नै जन्मिसक्नुभएर बाइबलका सबै अगमवाणीहरू पूरा गर्नुभएको थियो ।[३०]

ख्रीष्टलाई ग्रहण गर्नेहरू

वर्तमान समयका ख्रीष्टियानहरूले अति पवित्र सन्तको रूपमा लिने गरेका प्रेरित पावललाई २,००० वर्षअघि नासरी पन्थको मुख्य अगुवा भन्ने संज्ञा दिइएको थियो ।[३१] कारण तिनले मानिसको रूपमा आउनुभएका ख्रीष्टलाई विश्वास गरेका थिए । पावलले मात्र होइन तर यूहन्ना, पत्रुस, फिलिप जस्ता प्रेरितहरू र सुरुको मण्डलीका सन्तहरूले पनि चरम सतावटको बाबजुद येशूज्यूप्रतिको विश्वासलाई कायम राखे ।[३२] येशूज्यूका बाह्र चेलामध्येका एक, प्रेरित यूहन्नाले आदिदेखि अस्तित्वमा रहनुभएका परमेश्वर देहधारी भई मानिसहरूका बीचमा वास गर्नुभयो भनेर बाइबलमा लेखे । प्रेरित पावलले, येशूज्यू मानिस भई आउनुभए तापनि उहाँ मूलभूत रूपमा परमेश्वर हुनुहुन्छ भने ।


आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो । . . . अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो । हामीले उहाँको महिमा देख्यौं, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो ।

यूहन्ना १:१, १४


परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तुजस्तो ठान्नुभएन ... स्वरूपमा मानिसजस्तै भएर आफैलाई होच्याउनुभयो, र मृत्युसम्मै, अर्थात् क्रूसको मृत्युसम्मै आज्ञाकारी रहनुभयो ।

फिलिप्पी २:५–८


प्रेरितहरूले येशूज्यूलाई मुक्तिदाताको रूपमा ग्रहण गर्नुको कारणचाहिँ, बाइबलका सबै अगमवाणीहरू पूरा गर्नुभएका मुक्तिदाता नै येशूज्यू हुनुहुन्छ भन्ने कुरालाई तिनीहरूले पक्का विश्वास गरेकाले गर्दा हो । पुरानो करार बाइबलमा, येशूज्यू जन्मनुभन्दा सयौँ वर्षअघि नै परमेश्वर मानिसको रूपमा आउनुहुने विषयमा अगमवाणीहरू गरिएका थिए । ती अगमवाणीहरू यस प्रकार छन् : मुक्तिदाता एक जना कन्याको शरीरमा गर्भधारण गर्नुहुनेछ;[३३][३४] परमेश्वर, जसको सुरु प्राचीनकालदेखि नै छ, उहाँ बेथलेहेममा जन्मनुहुनेछ;[३५][३६] इस्राएलका राजा अर्थात् सियोनका राजा(परमेश्वर) गधाको बच्चा बछेडामाथि सवार भएर यरूशलेममा आउनुहुनेछ ।[३७][३८] बाइबलमा येशूज्यूलाई इम्मानुएल भनिएको छ । जसको अर्थ हो, परमेश्वर आफ्ना प्रजालाई बचाउन र तिनीहरूसँग रहन शरीरमा आउनुहुनेछ ।[३९] यो अगमवाणीअनुसार येशूज्यू मानिसको रूपमा जन्मनुभएर मानव-जातिको मुक्तिको निम्ति सुसमाचारको जीवन जिउनुभयो र क्रूसमा मृत्युसमेत भोग्नुभई बाइबलका सबै अगमवाणीहरू पूरा गर्नुभयो ।

येशूज्यू फेरि शरीरमा आउनुहुनेछ

अन्तिम भोजको रूपमा चिर-परिचित निस्तार-चाडको पवित्र भोज
अन्तिम भोजको रूपमा चिर-परिचित निस्तार-चाडको पवित्र भोज

परमेश्वर शरीरमा आउनुको आधारभूत कारण नै सबै मानव-जातिलाई बचाउनको निम्ति हो ।[४०] बाइबलमा हेर्दा, पापको ज्याला मृत्यु हो तर परमेश्वरको सित्तैँको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अनन्त जीवन हो भनेर लेखिएको छ ।[४१] पापीहरूले आफ्नो पापको ज्याला रहेको मृत्युलाई केहीद्वारा पनि तिर्न सक्दैनन् । यसकारण पापरहित हुनुभएका परमेश्वरले[४२] मानव-जातिका सारा पापहरू सट्टामा बोकेर मृत्यु भोगिदिनुभयो, जसद्वारा मानव-जातिका पापहरू प्रायश्चित भए । क्रूसमा मृत्यु भोग्नुभन्दा अघिल्लो दिन येशूज्यूले आफ्नो देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्यद्वारा नयाँ करार निस्तार-चाड स्थापना गर्नुभयो र हामीलाई पाप-क्षमा र अनन्त जीवन दिनुभयो । त्यसको भोलिपल्ट उहाँले क्रूसमा आफ्नो देह च्यातिने, र रगत बग्नेसम्मको कष्ट सहनुभई निस्तार-चाडद्वारा प्रतिज्ञा गरिएको करारलाई पूरा गर्नुभयो । पुरानो करार बाइबलको मीकाको पुस्तकमा, परमेश्वरले पछिल्ला दिनहरूमा सत्यताको मार्ग सिकाउनुहुनेछ भनेर अगमवाणी गरिएको छ ।[४३] फेरि भन्नुपर्दा, येशूज्यू दोस्रो पल्ट आउनुहुनेछ र हामीलाई मुक्तिमा डोऱ्याउने सत्यता सिकाउनुहुनेछ भनेर अगमवाणी गरिएको छ । येशूज्यूले हाम्रो मुक्तिको निम्ति स्थापना गर्नुभएको सत्यता नै नयाँ करार निस्तार-चाड हो । तर ई.सं. ३२५मा सुरुको मण्डलीको युगपछि निकेया धार्मिक सम्मेलनमा नयाँ करार निस्तार-चाड रद्द गरियो । येशूज्यूले पहिलो आगमनको समयमा खोलिदिनुभएको मुक्तिको मार्ग विलीन भयो । यसकारण जीवनको सत्यता पुनर्स्थापन गर्न र मानव-जातिलाई उद्धार गर्न ख्रीष्ट दोस्रो पल्ट आउनुहुनेछ ।


त्यसरी ख्रीष्ट पनि धेरै जनाका पाप बोक्नलाई एकै पल्ट बलि हुनुभयो, र उहाँ दोस्रो पल्ट देखा पर्नुहुनेछ, पाप बोक्नका निम्ति होइन, तर उत्सुकतापूर्वक उहाँको प्रतीक्षा गर्नेहरूका उद्धारको निम्ति ।

हिब्रू ९:२८


मानिसको रूपमा आउनुहुने दोस्रो आगमनका ख्रीष्टलाई चिन्ने तरिकाचाहिँ २,००० वर्षअघिको सुरुको मण्डलीको इतिहासबाट जान्न सकिन्छ । त्यो समयमा येशूज्यूको शारीरिक पक्षलाई हेरेका धार्मिक नेताहरूले मुक्तिदाता येशूज्यूलाई इन्कार गरे । तर बाइबलको अगमवाणी र त्यसको पूर्णता हेरेका प्रेरितहरू र सन्तहरूले भने मुक्तिदाता येशूज्यूलाई ग्रहण गरे । यो युगमा दोस्रो आगमनका ख्रीष्टलाई चिन्न सकिने एकमात्र तरिका पनि बाइबल नै हो । किनभने मुक्तिदाताको विषयमा गवाही दिने एकमात्र पुस्तक नै बाइबल हो ।[४४] पहिलो आगमनको समयमा येशूज्यूले आफू मुक्तिदाता रहेको कुरा बाइबलद्वारा गवाही दिनुभयो । बप्तिस्मा-दिने यूहन्नाले “आउनेवालाचाहिँ तपाईं नै हुनुहुन्छ ?” भनेर सोध्दा येशूज्यूले बाइबलका अगमवाणीहरू बताइदिनुभयो ।[४५][४६] साथै इम्माउसतर्फ गइरहेका चेलाहरूले येशूज्यूलाई चिन्न नसक्दा येशूज्यूले बाइबलद्वारा आफ्नो विषयमा गवाही दिनुभएको थियो ।[४७] ख्रीष्ट दोस्रो पल्ट कहिले, कस्तो स्वरूपमा र के चिन्ह लिएर आउनुहुनेछ भन्ने कुरा सबै बाइबलमा अगमवाणी गरिएको छ । जसमध्ये सबैभन्दा महत्त्वपूर्ण चिन्ह नै नयाँ करार निस्तार-चाड हो । भविष्यमा परमेश्वरले छिप्पिएको मद्यको भोज लाउनुहुनेछ र मुत्युलाई सदाको निम्ति निल्नुहुनेछ भनेर यशैया अगमवक्ताले अगमवाणी गरेका थिए ।


सर्वशक्तिमान् परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्ति मीठा-मीठा थोकहरू– छिप्पिएको मद्य, असल-असल स्वादिष्ट थोकहरू, सबैभन्दा असल मद्यको भोज लाउनुहुनेछ . . . उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ । परमप्रभु परमेश्वरले सबैका अनुहारबाट आँसु पुछिदिनुहुनेछ । उहाँले सारा पृथ्वीबाट आफ्नो प्रजाको निन्दा हटाइदिनुहुनेछ । परमप्रभुले भन्नुभएको छ । त्यस दिन तिनीहरूले यसो भन्नेछन्, “निश्चय उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ,”

यशैया २५:६-९


मृत्युलाई सदाको निम्ति निलिदिने अर्थात् अनन्त जीवन दिलाउने एकमात्र दाखमद्य नै बाइबलमा नयाँ करार निस्तार-चाडको दाखमद्य हो । पहिलो आगमनपछि करीब १,६०० वर्षसम्म लोप भएको नयाँ करार निस्तार-चाड पुनर्स्थापना गर्नुहुने व्यक्ति नै दोस्रो आगमनका येशूज्यू अर्थात् परमेश्वर हुनुहुन्छ । बाइबलका यी सम्पूर्ण अगमवाणीअनुसार देहधारी हुनुभई नयाँ करार पुनर्स्थापन गर्नुभएका व्यक्ति नै आन साङ होङज्यू हुनुहुन्छ ।[४८]

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. ↑ "देहधारण"। Britannica। 
  2. ↑ "ईश्वरको देहधारणलाई विश्वास गर्ने ख्रीष्टियान धर्म, प्रवचन"। WATV.org। 
  3. ↑ "सन् २०२२को विश्वव्यापी ख्रीष्टियान धर्मका ७ वटा प्रेरणादायक ट्रेन्ड"। Lifeway Research। जनवरी ३१, २०२२। 
  4. ↑ "१ तिमोथी २:५"। 
  5. ↑ "रोमी ९:५"। 
  6. ↑ "हिब्रू ९:२७"। 
  7. ↑ "Christos"। Biblehub। 
  8. ↑ "येशूज्यू,"। Britannica। 
  9. ↑ एलिस्टर मेक ग्राथ (मार्च ४, २०१३), Christian History, 1st edition, Wiley-Blackwell 
  10. ↑ "यशैया ९:६"। 
  11. ↑ "यशैया ७:१४"। 
  12. ↑ "ख्रीष्टियान धर्म"। Britannica। 
  13. ↑ D. H. Withers (अगस्ट २३, २०१६)। अटूट नाता : इस्राएल र मण्डली। WestBow Press। 
  14. ↑ अध्याय १ रहस्यहरूको रहस्य, पिता परमेश्वर र माता परमेश्वर, पेज ११, गिम जु छल, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड
  15. ↑ अध्याय १२ त्रिएक विषयमा, परमेश्वरको रहस्य र जीवनको पानीको मूल, पेज ८२, आन साङ होङज्यू, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड
  16. ↑ "निरन्तर चलिरहेको येशूको अनुहारको रहस्य"। HISTORY। 
  17. ↑ "येशूज्यू साँच्चै कस्तो देखिनुहुन्थ्यो ?"। BBC NEWS। डिसेम्बर २४, २०१५। 
  18. ↑ "The Ongoing Mystery of Jesus's Face"। HISTORY। 
  19. ↑ Joan E. Taylor, (फेब्रुअरी ८, २०१८)। येशूज्यू कस्तो देखिनुहुन्थ्यो ?। Bloomsbury T&T Clark। Illustrated edition। पृष्ठ 72। 
  20. ↑ "यूहन्ना ६:४२"। 
  21. ↑ "लूका २४:२४-४३"। 
  22. ↑ "यूहन्ना ४:६"। 
  23. ↑ Fred G. Zaspel (सेप्टेम्बर २, २०१०)। 6. Christology 1: The Person of Christ, The Theology of B. B. Warfield: A Systematic Summary। 0 edition। Crossway। 
  24. ↑ "मर्कूस ६:३"। 
  25. ↑ "लूका ११:३८"। 
  26. ↑ "मत्ती ११:१८-१९"। 
  27. ↑ "लूका १५:१-२"। 
  28. ↑ ख्रीष्टको जीवन, जियोभानी प्यापिनी, हार्कोर्ट, ब्रेस एन्ड कम्पनी, सन् १९२३
  29. ↑ अध्याय २ मानिस, ख्रीष्ट येशू, पिता परमेश्वर र माता परमेश्वर, पेज १८, गिम जु छल, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड
  30. ↑ अध्याय ११ येशूज्यूको विषयमा, परमेश्वरको रहस्य र जीवनको पानीको मूल, पेज ७५, आन साङ होङज्यू, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड
  31. ↑ "प्रेरित २४:५"। 
  32. ↑ "यूहन्ना १५:२०-२१"। 
  33. ↑ "यशैया ७:१४"। 
  34. ↑ "मत्ती १:१८-२३"। 
  35. ↑ "मीका ५:२"। 
  36. ↑ "मत्ती २:१-६"। 
  37. ↑ "जकरिया ९:९"। 
  38. ↑ "मत्ती २१:२-११"। 
  39. ↑ अध्याय १२ त्रिएक, परमेश्वरको रहस्य र जीवनको पानीको मूल, आन साङ होङज्यू, पेज ८६, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड
  40. ↑ "यूहन्ना ३:१६"। 
  41. ↑ "रोमी ६:२"। 
  42. ↑ "१ यूहन्ना ३:५"। 
  43. ↑ "मीका ४:१-२"। 
  44. ↑ "यूहन्ना ५:३९"। 
  45. ↑ अध्याय ४ “आउनेवालाचाहिँ तपाईं नै हुनुहुन्छ ?” पिता परमेश्वर र माता परमेश्वर, पेज ३६, गिम जु छल, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड
  46. ↑ "मत्ती ११:२-५"। 
  47. ↑ "लूका २४:२७"। 
  48. ↑ "[विशेष विषय ● लुथरको ५०० वर्षको धर्म सुधार – परमेश्वरको मण्डली र बाइबलको सत्यता] तिनीहरू केलाई विश्वास र पालन गर्दैछन् ?"। Monthly JoongAng। नोभेम्बर १७, २०१७। पृष्ठ 174-182।